सदूरपश्चिमका सर्जक कर्ण दयाल ‘सोडारी’का तीन काव्यकृति एक साथ बजारमा आएको छ । ‘बेवारिसे लौरो’ कवितासंग्रह, ‘आमनेसामने’ गजलसंग्रह र ‘लकडाउन’ गजलसंग्रह प्रकाशित भएको हो ।

सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बैतडीमा बसेर राष्ट्रिय विषय र जनजीविकाका सवालहरुलाई टपक्क टिपेर सृजनामा ढाल्ने कर्णले राष्ट्रिय अन्तर्राष्ट्रिय घटना परिवेश र सिमान्तकृृत वर्ग क्षेत्र समुदायका अवाजहरुलाई काव्यमा ढाल्ने गरेका छन् ।

यहाँ भाषा हराएको छ, भेष हराएको छ,
पुरानो नक्सामा आज देश हराएको छ ।

लिपुलेक लिम्पिया धुरामा सेतो हिमाल,
तराईको दशगजामा मधेस हराएको छ ।

छैनन् कतै जङ्गेपिलर खोजेँ सीमाहरूमा,
नाम र निसानको अवशेष हराएको छ ।

अमरसिंह, भक्ति थापा र वीर बलभद्रले,
नालापानीमा लडेको बेस हराएको छ ।

आज हरेक नेपालीको किन बैरीप्रति,
घृणा, आक्रोश र आवेश हराएको छ ।

समाजका विभिन्न पक्षहरू– सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक एवं राजनीतिक पक्षका बारेमा देखेर, भोगेर, नियालेर केही लेख्ने कोशिस गर्दै जाँदा कृति प्रकाशन गर्न सम्मको सफलता प्राप्त भएको छ ।

मेरो “बेवारिसे” कवितासंग्रहबारे कवि राजेन्द्र तारकिणी भन्छन्– ‘दयालको कविताका विषयवस्तु सिस्नो, च्याउ, कोदो, नासपातीदेखि राजनीतिक क्रान्ति अनि परिवर्तनका नाउँमा भएका धोकाधडीसम्म छन् । देश र जनताको मुहार फेर्ने हुङ्कारका साथ भएका जनयुद्ध एवं क्रान्तिका दौरान सोझासीधा जनता केवल ‘लौरो’ बनेको कारुणिक यथार्थ उनले उद्घाटन गरेका छन् ।’

यस्तै, ‘लकडाउन’ गजलसंग्रह विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) महामारीको पीडामाझ जन्मिएको कृति हो । संक्रामक रोग कोभिड नियन्त्रणका लागि विश्व नै लकडाउनमा जानुपरेको, त्यसले जनजीवन अस्तव्यस्त बनाएको, नेपालले पनि उक्त कठोर नीति चाल्दा त्यसबाट सृजित समस्याहरू गजलमार्फत व्यक्त गर्न खोजेको छु । मानिसहरु रोजगारविहीन हुनु, घरभित्रै थुनिनु, अकालमा ज्यान गुमाउनु तर आफन्तले छुनसम्म नपाउनुजस्ता भयावह क्षणका प्रतिध्वनिका रुपमा यस संग्रहभित्रका गजलहरु रहेका छन् ।

उनका संग्रहबारे गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ भन्छिन्– ‘लकडाउनमा गरीखाने जनतालाई आफ्नै खालको पीडा छ । स्वतन्त्र जीवन, स्वतन्त्र विश्वको चाहनालाई लकडाउनले अस्तव्यस्त पारिदिएको छ । लकडाउनका यावत पीडालाई समेटेर गजलकारले यस सङ्ग्रहमा आफ्नो भावना व्यक्त गरेका छन् ।’

‘आमनेसामने’ गजल सङ्ग्रहलाई जगदम्बा पब्लिकेशन प्रा.लि. महेन्द्रनगरले प्रकाशित गरेको हो भने ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ सम्पादन हाउसको सहकार्यमा काठमाडौँबाट युरेका पब्लिकेशनले बजारमा ल्याएको हो ।

कर्णको पहिलो गजल संग्रह ‘आँखासामु’ २०७३ सालमा प्रकाशन भएको थियो । २०७४ सालमा उनको दोस्रो कृति ‘पर्दापछाडि’ गजल सङ्ग्रह बजारमा आएको थियो भने २०७५ सालमा डोट्याली भाषाको गजल सङ्ग्रह ‘डुब्याकि जुःन’ प्रकाशन भएको थियो ।