जादुमयी चरित्र जिनबारे अनेक रोचक कथा रचिएका छन् । कथालयले ‘जिनको अनौठा काम’  प्रकाशन गरेको छ । अरबी लेखक मकावी सईदले लेखेको यो पुस्तकमा विज्ञान र परिकथामा आधारित हसम र जिनको कथा छ । हसम अहिलेको आधुनिक युगका पात्र हुन भने जिन पौराणिक पात्र हो ।

जोबेआ नाम गरेको त्यो जिन वैज्ञानिक उपलब्धिभन्दा जादुगरीबाट धेरै कुरा पाउन सकिन्छ भन्ने विश्वास गर्छ । तर हसमले विज्ञानको प्रयोगले जोबेआलाई यतिसम्म हायलकायल पार्छन कि अन्त्यमा उसलाई मानव संसारमै बसेर यहाँका कुराहरु थाहा पाउन र सिक्न मन लाग्छ ।

जादुगरी  शक्ति   भएको जिन हसमका अगाडि हार्ला वा जित्ला ? पुस्तकमा यही कथा रोचक र वर्तमान समयका प्रविधिहरुको सान्दर्भिक उदाहरण दिई प्रस्तुत गरिएको छ ।

अम्र अल्क फरावीले बनाएका चित्रहरुले पाठकमा कथाका घटनाक्रमबारे उत्साह जगाउँछ । विज्ञान र प्रविधिमा रुचि राख्ने बालबालिकाका लागि यो पुस्तक निकै रोचक हुन सक्छ ।

यो पुस्तकको मुल प्रकाशक अल—दार—अल—मारिश अल—लुब्नानिआह हो । फिरोज आलमले यो पुस्तक नेपाली भाषामा अनुवाद गरेका हुन् ।