इतिहासशिरोमणि बाबुराम आचार्यको १३४ औं जन्म जयन्तीका अवसरमा शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान विषयक विचार गोष्ठी’ का वक्ताहरूले राष्ट्रका विभूतिका रुपमा रहेका इतिहासकार आचार्यको योगदान र सिर्जनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरणका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रतिष्ठानको सामाजिक शास्त्र विभाग र इतिहास शिरोमणि आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहास आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएको बताए। उनको योगदानलाई चिरायुसम्म सम्झनेगरी पुरस्कारलगायत विविधि विषयबाट सम्बोधन हुनेगरी मन्त्रालयले नीतिगत कार्यक्रम ल्याउने कोइरालाले बताए।

आचार्य भौतिक रुपमा नरहे पनि उनका इतिहास सम्बन्धी कालजयी कृतिले सदैब जीवित रुपमा स्मरण गराइरहेको उल्लेख गर्दै सचिव कोइरालाले इतिहासमा योगदान दिने व्यक्तिलाई नै इतिहासले सम्झने उल्लेख गरे। नेपाली साहित्यको इतिहास विधामा आचार्यको अतुलनीय योगदान छ। आचार्यको स्वदेश तथा विदेशमा पनि उत्तिकै चर्चा हुन्छ।

पर्यटन मन्त्रालयले आचार्यको योगदानको कदर गर्दै पुरस्कारका लागि १० लाख बजेट विनियोजन गरेको र तीन विधामा दिइने उक्त पुरस्कार यसै वर्ष प्रदान गर्नका लागि आवश्यक कार्यविधि बनाइने प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले जानकारी दिए।

‘इतिहासको आलोकमा बाबुराम आचार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. सुरेन्द्र केसीले विलक्षण प्रतिभाका धनी इतिहास शिरोमणि आचार्यको योगदानलाई चीरस्मरण बनाउन राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए।

उनले आचार्यका हरेक कृतिले ज्ञानका पारखीलाई दिशाबोध गर्नुका साथै अध्ययनमा प्रोत्साहन गर्ने बताए। प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले नेपालको इतिहासलाई प्रमाणिक बनाउन भूमिका खेलेका आचार्यले नेपाली साहित्यको समालोचनालाई माथि पुर्याउने पनि योगदान गरेको बताए।

पूर्वराजदूत एवं प्रतिष्ठानका अध्यक्ष राजेश्वर आचार्यले नेपालका पर्यटकीय गन्तव्यमा इतिहास शिरोमणि आचार्यलगायत स्रष्टाका संक्षिप्त पहिचान झल्कने गरी गन्तव्य प्रवर्धन गरिनुपर्ने तथा आचार्यका बारेमा थप खोज तथा अनुसन्धान गरी युवापुस्तामा ज्ञान हस्तान्तरण हुनुपर्ने धारणा राखे।

वि.सं २००८ मा आचार्यलाई तत्कालीन राज त्रिभुवनबाट इतिहास शिरोमणिको पदवी प्रदान गरिएको थियो । वि.सं २०२० मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कार र २०२८ मा राजा महेन्द्रबाट ‘गोर्खा दक्षिण बाहु’ तेस्रो प्रदान गरिएको थियो।

आचार्यका ‘भानुभक्त झ्यालखानामा र सगरमाथा वा झामो–लोङमा’ जस्ता थुप्रै साहित्य र  इतिहासलगायतका विविध विषयक लेख–रचना प्रकाशित भएका छन्। वि.सं १९४४ फागुन २९ मा जन्मिनु भएका आचार्यको वि.सं २०२९ साल भदौ २१ गते ८५ वर्षको उमेरमा निधन भएको थियो।