फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्दैछ ।

फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् ।
कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नु नै हुनेछ, सँगै पाठकसँग संवाद एवम् अन्तर्क्रिया पनि गर्नुहुनेछ ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ । र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन् । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ ।

चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्ने छैन । कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको छ ।

सटल बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एकएक घण्टामा सिजी ल्यान्डमार्क र कावासोतीबाट छुट्नेछन् । यसका लागि भाडा लाग्नेछैन ।

फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र पत्रकार रवि लामिछानेको समेत सहभागिता रहनेछ ।

उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काङ्ग्रेस नेता गगन थापाले संवाद गर्नेछन् ।

यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नेछन् । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नेछन् ।

उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नेछिन् । साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ ।

यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सेसनमा निरञ्जन कुवँरसँग उनको पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नेछिन् । ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नेछिन् ।

फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कवितावाचन पनि रहनेछ । ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहान गफिनेछन् ।

‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेका आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवम् लगावबारे चर्चा गर्नेछन् । सर्वसाधारणमाझ उनी अध्ययनशील अभिनेताका रूपमा चिनिन्छन् ।

फिभरका अवसरमा उनले आफ्नो किताब पढ्ने बानी कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाउनेछन् ।

कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ । यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाए, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पार्यो भन्ने विषयमा पनि उनले आफ्ना धारणा राख्नेछन् । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ ।