नियात्रा समाज नेपालले २०७७ फागुन १५ गते ‘देश देशावर’ कृतिमाथि अन्तर–विमर्श कार्यक्रम सम्पन्न गरेको छ । जीवा लामिछानेकृत देश देशावरमा बीसवटा नियात्रा संग्रहित छन् ।

व्यवसायिक व्यक्तित्वका कारण एक सय तीसभन्दा बढी मुलुक घुमिसकेका लामिछानेको यो दोस्रो नियात्रा कृृति हो । कृतिका बारेमा वरिष्ठ समालोचक प्रा.डा. राजेन्द्र सुवेदी र प्रा. डा. ज्ञानु पाण्डेले बोल्नुभएको थियो । विश्वका सम्पन्न भनिएका मुलुकहरुले गरेको सङघर्ष र वर्तमान अवस्थालाई कृतिमा जीवन्त ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रत्येक नियात्राले दिने सूचनालाई रोचकतापूर्वक प्रस्तुत गरिएको छ ।

बीसवटा नियात्राले बीसवटा देशका बारेमा गहन जानकारी दिएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सबै वर्गका मानिसले यो कृति पढ्न पर्ने र बढीभन्दा बढी पुस्तकालयमा यो कृति राखिनु पर्ने सुझाव वक्ताहरुले दिनुभयो ।

नियात्रा समाज नेपालकी सदस्य वरिष्ठ नियात्राकार इल्या भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो । पछिल्ला दिनमा अझै विविध शीर्षकमा नियात्रा सङ्ग्रह आइरहून् भन्ने शुभकामना दिनुभयो ।

संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार चन्द्रप्रसाद भट्टराईले पनि जीवा लामिछानेको लेखनीले निरन्तरता पाइरहोस् भन्ने शुभकामना दिनुभएको थियो । अन्तर विर्मश कार्यक्रममा डा. रजनी ढकाल, डा. गीता त्रिपाठी, मोहन चापागाई, भवानी खतिवडा लगायत थुप्रै नियात्राप्रेमी व्यक्तित्वले स्रष्टाप्रति पुस्तकका बारे विभिन्न जिज्ञासा राख्नुभएको थियो । ती सबै जिज्ञासालाई लेखकले सम्बोधन गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार शताब्दीपुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रतीक ढकालले गर्नुभएको थियो । तीन घण्टासम्म चलेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव प्रभा बरालले गर्नुभएकाे थियाे ।

संस्थाकी काेषाध्यक्ष गीता रेग्मीले कार्यक्रममा पाल्नु भएका नियात्राकार एवं पत्रकारहरूकाे स्वागत गर्नु भएकाे थियाे ।