नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३ औँ जन्म जयन्तीका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आफ्नै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नुभएको कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पण गरी शुभारम्भ गरिएको थियो ।

स्वागत मन्तव्य दिने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व रहनु भएको जनाउनुभयो । अम्बर गुरुङलाई आफ्नो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा उहाँले चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका मायाप्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोत गीतहरु सबैमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गर्नुभयो । नौलाख तारा आकाशमा …बोलको गीतबाट चर्चामा आउनु भएका अम्बर गुरुङका बारेमा बोल्दै उहाँले स्वर, संगीत र शब्द सबैमा पोख्त गुरुङ एक विशिष्ट साधक रहेको कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्मकेन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा उहाँको जीवन संघर्षका बारेमा जानकारी गराउनु भयो । नौलाखा तारा उदायो… बाट चर्चा कमाउन सफल भए पनि सङ्गीत क्षेत्रबाट जीविकोपार्जन हुने नदेखिएपछि सङ्गीतकर्म छोडेर कृषि कर्मतर्फ लाग्ने सोच बनाइरहँदा शंकर लामिछानेको संगतपछि फेरि सङ्गीतकर्मलाई निरन्तरता दिएको कुरा पनि सो अवसरमा सुनाउनु भयो ।

त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले उहाले सङ्गीत सिर्जन गर्नु भएका निकै लोकप्रिय हे कान्छा…, म अम्बर तिमी धर्ती, समालेर राख संगालेर राख…, होसियार, समयको भिडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फुलबारी छैन जस्ता गीतहरुभित्रका दार्शनिक पाटोलाई उजागर गर्नुहँदै शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा गुरुङलाई चित्रण गर्नु भयो ।

कार्यक्रममा कलाकारहरु संजय तुम्रोक, दुर्गा परियार, रुपक चौधरीले अम्बर गुरुङको संगीतमा रहेको रातो र चन्द्र सूर्य ..बोलको गीत प्रस्तुत गर्नु भयो । त्यसैगरी कार्यक्रममा प्राज्ञ भरत नेपाली, धन बहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखा तारा आकाशमा.., हे कान्छा..लगायतका अम्बर गुरुङद्वारा सिर्जित धूनहरु प्रस्तुत भएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले अम्बर गुरुङका असल कर्महरुलाई थोरै भए पनि अनुकरण गर्न सक्नु नै उहाँप्रतिको सच्चा सम्मान हुने बताउनु भयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले सञ्चालन र प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक कुमार राईले सङ्गीत संयोजन गर्नु भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु, ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव विपिन घिमिरे, साँस्कृतिक संस्थानका अध्यक्ष प्रेम अधिकारी, महाप्रबन्धक ओशोक प्यासी, जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु, वरिष्ठ सङ्गीतकर्मीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा साङ्गीतिक प्रस्तुति दिनुहुने कलाकारहरुलाई स–धन्यवादस्वरुप कुलपतिबाट प्रशंसा पत्र पनि वितरण गरिएको थियो ।

हरिहर शर्मा

डा. देवी नेपाल

रायन