साहित्यकार मोमिला अशोक-सुभद्रा काव्य पुरस्कार २०७७ बाट पुरस्कृत भएकी छन् ।

तीन दशक लामो समयदेखि कविता, निबन्ध र समालोचना साहित्यमा निरन्तर साधनारत उनलाई लेखक संघ दाङले उक्त पुरस्कार प्रदान गरेको हो ।

निबन्ध र कविता सिर्जना गरिरहेकी मोमिलालाई उक्त पुरस्कार वरिष्ठ साहित्यकार कोषराज न्यौपानेले दाङको घोराहीमा प्रदान गरेका हुन् ।

पुरस्कृत स्रष्टा मोमिलाको व्यक्तित्व र कृतित्वका बारेमा बोल्दै साहित्यकार डाक्टर कृष्णराज डिसी, साहित्यकार खगराज तथा कोषराज न्यौपानेले मोमिलाका सिर्जनाका विविध आयामका बारेमा बोल्दै सही व्यक्तिले सही पुरस्कार पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

पुरस्कार ग्रहणपछि बोल्दै मोमिलाले भन्नुभयो, ‘लेखक संघ दाङले प्रदान गरेको यो पुरस्कारले आफूमा थप जिम्मेवारीबोध भएको छ ! पूर्व धनकुटामा जन्मिएर काठमाडौंमा बसेर सिर्जना गरिरहेकी मलाई दाङले सम्झनुले मैले सही काम गरिरहेकी रहेछु भन्ने लागेको छ ।’

अशोक-सुभद्रा काव्य पुरस्कार समाजसेवी अशोककुमार लामिछानेले स्थापना गर्नु भएको हो ।