संसारकै सबैभन्दा धेरै शब्दकोश संकलन गर्ने महिला मेडलिन क्रिप्कीको हालै निधन भएको छ । उनको संकलनमा संसारका दुर्लभ शब्दकोशहरू रहेको दाबी गरिन्छ ।
निजी संकलनमा यत्तिका धेरै शब्दकोश हुने उनी मात्रै हुन् । पाँच कक्षामा पढ्दा उनका मातापिताले वेब्स्टर्स कलेजियट शब्दकोश दिएयता उनीसँग विभिन्न भाषाका २० हजारभन्दा बढी शब्दकोशहरूको संकलन रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।
उनीसँग ल्याटिन भाषाको सन् १५०२ मा प्रकाशित शब्दकोश मात्र होइन, प्रख्यात साहित्यकार जोनाथन स्विफ्टले संकलन गरेको छोटो शब्दकोश, ‘द बेनिफिट्स अफ फार्टिङ एक्स्प्लेन्ड’, न्युयोर्क महानगर परिवहन प्राधिकरणले प्रकाशन गरेको सन् १९८० मा प्रकाशित ‘पाकेटमारका शब्द र अर्थ’ पनि छ । यिनै संकलकको अप्रिल २५ मा ७६ वर्षको उमेरमा कोरोनाभाइरसका कारण निधन भएको छ । उनका भाइ सउल क्रिप्की प्रख्यात दार्शनिक र प्राध्यापकका रूपमा चिनिइन्छन् ।
यतिबेला उनको अचानक निधन भएपछि उनको संकलनमा रहेका यी अद्भूत पुस्तकहरूको अवस्था के होला भन्ने चिन्ता बढेको छ । उनका बुवा यहुदी समुदायका अगुवा थिए भने उनकी आमा डोरोथी बालबालिकाका लागि धार्मिक ज्ञान बढाउने पुस्तक लेखिका थिइन् । अमेरिकाको ओमाहामा जन्मिएकी उनको शब्दकोश मोह बाल्यकालमा नै जागेपछि अन्य विविध भाषा र भाषिकाप्रति रूचि जागेको हो ।
‘अन्य संकलक र उनीबीच एउटा तात्त्विक फरक छ,’ अक्सफोर्ड इङ्लिस डिक्सनरीका पूर्व सम्पादक जेसी सिडलोवर भन्छन्, ‘उनी शब्दकोश भेला मात्र पार्दिन थिइन्, ती सबैलाई विस्तारपूर्वक अध्ययन पनि गर्थिन् । उनले त विभिन्न संस्करणका शब्दकोशहरूको फरक पनि खुट्याइदिन्थिन् ।’ उनले कयौँ शब्दकोश सम्पादकहरूलाई नयाँ नयाँ शब्दका लागि र तिनको अर्थका लागि सहयोग गरेको मरियम वेब्स्टर डिक्स्नरीका प्रकाशक तथा अध्यक्ष जोन मोर्सले न्युयोर्क टाइम्सलाई बताएका छन् ।
उनीसँग भएका पुस्तकहरू कहाँ, कसरी राखिएका छन्, सबै कण्ठस्थ थिए । उनले तुरून्तातुरुन्तै ‘क्लासिकल डिक्सनरी अफ द भल्गर टङ (१७८५) अथवा द पकेट डिक्सनरी अफ प्रिजन स्ल्याङयुसेज (१९४१) जस्ता शब्दकोश अघिल्तिर ल्याइदिन्थिन् । कहिलेकाहीँ शब्दकोशका सम्पादकहरूले कुनै शब्दको चुनौती दिनेबित्तिकै केही समयभित्रै उनले त्यसको अर्थ फेला पारिदिन्थिन् ।
शब्दकोश संकलनका लागि उनी विभिन्न देशहरूसमेत घुमेकी थिइन् ।
एक पटक लन्डन यात्राका बेला उनले सन् १६९४ मा प्रकाशित ‘द लेडिज डिक्सनरी’ हात पारिन् । यो यति महँगो थियो कि उनी फ्रान्सस्थित निस पुग्ने कि पुस्तक किन्ने भन्ने दोधारमा परिन् । उनले पुस्तक किनिन् र निसस्थित साथीकहाँ पुग्न भने हिचहाइकिङ गरेको गर्वका साथ सुनाउने गर्थिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।