मुलुकमा सुव्यवस्था स्थापित गर्न माग गर्दै विराटनगरका कवि, लेखक, कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
विराटनगरका ३ सय ५९ जना कवि, लेखक, कलाकारलगायतका व्यक्तिहरुले हस्ताक्षर गरिएका ज्ञापन–पत्र जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो ।
मुलुकमा सुशासन, सुव्यवस्था कामय गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको कवि सुमन पोखरेलले बताउनुभयो । सुशासन र सुव्यवस्थाको पक्षमा लेखिएका सिर्जनाहरु ज्ञापनपत्रका साथमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
सबै खाले बेथिति, बलमिच्याइँ, बेइमानी, विभेद र कुशासनका विरुद्धमा लेखिएका ३ सय ५९ वटा कविताहरु ज्ञापन–पत्रमा रहेको पोखरेलले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छिट्टै ज्ञापन–पत्र पठाउने अश्वासन दिनुभयो ।
उहाँले मुलुकमा सुव्यवस्था स्थापित गर्न अभिप्रेरित गर्नका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट कुनै कमि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । ज्ञापनपत्र बुझाउन प्राज्ञ विवश पोखरेल, कवि निर्मल तामाङ, धीरज राईलगायत सहभागी हुनु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।