साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘उठ तिलोत्तमा’ सार्वजनिक

Chovar Blues Mobile Size

प्रजातन्त्र दिवसको अवसर पारेर साहित्यकार शशी थापा पण्डितको पहिलो कथासङ्ग्रह ‘उठ तिलोत्तमा’ सार्वजनिक गरियो । भृकुटीमण्डपमा चलिरहेको पुस्तक प्रदर्शनीकै छेको पारेर शुक्रबार एक कार्यक्रमकाबीच कथा संग्रह सार्वजनिक गरिएको हो ।

कृति सार्वजनिक कार्यक्रमको प्रमुख आतिथ्यता लघुकथाकार महेश प्रसाईंले गर्नुभएको थियो । साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा साहित्य अन्वेषक प्रमोद प्रधान, साहित्यकार अर्जुन थापा, समालोचक ज्ञानु अधिकारी, कथाकारकी आमा लक्ष्मीकुमारी थापालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लघुकथाकार महेश प्रसाईंले संग्रहमा समावेश कथाले नारीचेत बोकेको उल्लेख गर्नुभयो । अहिले धेरै तिलोत्तमाहरु यौन हिंसा, घरेलु हिंसा, दमित र शोषित भइरहेको अवस्थामा पीडितको आवाज कथाले बोलेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि तथा साहित्यकार राधेश्याम लेकालीले शशी थापा पण्डित कथाकारको रुपमा उदाएकोमा बधाई दिनुभयो । थापाले फरक-फरक विधामा कलम चलाउँदै आएको उल्लेख गर्दै साहित्यकारले फरक विधा लेखे पनि एक विधालाई आफ्नो विधा बनाउनु पर्ने उल्लेख गर्नुभयो । थापाका रचना काल्पनिक वा साहित्यिक मात्रै नभएर अनुसन्धानात्मक हुने पनि उहाँको भनाइ थियो ।

कृतिका बारेमा विस्तृत समीक्षा गर्दै समालोचक ज्ञानु अधिकारीले पौराणिक पात्रलाई आधुनिक कथामा ढालेर कथाकार पण्डितले उत्कृष्ट कथा प्रस्तुत गरेको बताउनुभयो । आधुनिक समाजको कथा, व्यथालाई पौराणिक पात्रबाट भनाएर आफू जोगिने गज्जबको उपाय लगाएको भन्दै कथाकारको प्रशंसा गर्नुभयो । पौराणिक घटना, संस्कृति, समाज र नारी चेत लगायतका विषयमा केन्द्रित १५ वटा कथाहरु संग्रहमा रहेको उहाँको भनाइ थियो ।

sagarmani mobile size

कार्यक्रममा सहभागीलाई कथाकारका पति कुमार पण्डितले स्वागत गर्नुभएको थियो साहित्यकार तथा समाजसेवी सरु सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कथाकार शशी थापा पण्डितका यसअघि तीन वटा कविता संग्रह र अनुसन्धानात्मक कृतिहरु प्रकाशित भइसकेका छन् भने ‘उठ तिलोत्तमा’ उहाँको चौथो कृति हो ।

यस पुस्तकलाई युरेका पब्लिकेशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया
Loading...