सपना सञ्जिवनीले गएको माघ ३० मा सिंहदरबार महिला मार्च पास कार्यक्रमका अवसरमा वाचन गरेको कविताका कारण कालो मोसो र ज्यानको धम्की पाएकी छन् ।

अब हामी सीता बन्दैनौँ
सहनशील र कोमल जानकी बन्दैनौँ
ए राम, कान खोलेर सुन
तिम्रो पुरूषवादी अहंकारको बोझ बोकी
अब हामी धर्तीभित्र धस्दैनौँ

मैथिली भाषामा माथिको पंक्ति तथा कविता सुनाएकी सपनालाई केही समययता बलात्कार, कालो मोसोजस्ता धम्की मात्र पाएकी छैनन्, सो कार्य गर्नेलाई १० हजार रूपैयाँ पुरस्कार दिने घोषणासमेत गरिएको जनाइएको छ ।

सञ्जीवनीसँगै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी र अधिकारकर्मी रीता शाहको संयुक्त पोस्टर बनाई हिन्दु धर्म विरोधी भएको आरोप लगाउँदै सो धम्की दिइएको बताइएको हो ।

आफूहरूमाथि आक्रमण हुन थालेपछि मुख खोलेका अधिकारकर्मीहरूको सुरक्षाका लागि वृहद् नागरिक आन्दोलनले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीरतापूर्वक छानबिन तथा दोषीविरूद्ध कारबाहीको माग गरेको छ ।