चितवन सौराहामा उत्प्रेरणात्मक लेखक तुलसी निरौलाका तीन कृतिहरु हालै सार्वजनिक गरियो । घुमघामका लागि सौराहा पुगेका लेखक निरौलाले त्यहीँ अर्का लेखक जीवा लामिछानेलाई अकस्मात भेटेपछि उनले त्यहीँ पुस्तक विमोचन गर्ने अवसर जुराए ।

लेखक निरौला भन्छन्, ‘यात्रामा निस्केका बेला मैले आदर्श मान्ने व्यक्ति जीवा लामिछानेसँग भेट जुर्यो । सोही अवसरमा अन्य नौ जना सर्जक तथा शिक्षाविद्हरूको समुपस्थितिलाई दुर्लभ अवसर मान्दै विमोचन गराइयो ।’

सार्वजनिक गरिएका तीन कृतिमध्ये ‘बाकस खोतल्ने कोसिस’ १११ वटा उत्प्रेरणात्मक कथाहरुको संग्रह हो । त्यस्तै ‘नयाँ राजाहरुको नयाँ लुगा’मा ९३ वटा कविताहरु समाहित गरिएको छ । ‘हिमाली बगैँचा’मा भने १०० नेपाली गीतहरुको संग्रह गरिएको छ । उत्प्रेरणात्मक लेखक तथा वक्ताको परिचय बनाएका निरौलाले यी किताबसँगै नयाँ कवि तथा गीतकारका रुपमा पनि परिचय थपेका छन् ।

विमोचनमा लामिछानेसहित शिक्षाविद् केदारनाथ खनाल, निबन्धकार रामबाबु घिमिरे, गजलकार धनराज गिरी, प्रेम रिमाल, तिलकराज शर्मा, भूपिन खड्का, ईश्वर कँडेलको सहभागिता रहेको थियो ।