२००७ सालमा प्रजातन्त्र ल्याउन नेपालगञ्जका श्यामकुमार तामाङको अहम् भूमिका रह्यो । २००७ सालको क्रान्तिका लागि जनमुक्ति सेना गठनदेखि नै जोडिएका तामाङ वीरगञ्ज, विराटनगर, ठोरी, चितवन कब्जा गर्दा प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।
भारतको दार्जिलिङस्थित सिमरिङ चियाबगानमा वि.सं. १९८७ फाल्गुन ९ गते जन्मिनु भएका तामाङ खारसाङमा हाइस्कूल पढ्दादेखि नै क्रान्तिकारी हुनुभयो । नेपालबाट भागेर भारतमा पुगेका गणेशमान सिंह, पुष्पलाल श्रेष्ठहरु तामाङ पढ्ने स्कूलमा पुगेर क्रान्तिको शिक्षा दिनुहुन्थ्यो । निर्मल लामाको संगतमा रहनु भएका तामाङ नेताहरुको कुरा सुन्दा सुन्दै क्रान्तिकारी हुनुभयो ।

२००७ सालको क्रान्तिमा जनमुक्ति सेनाका कमाण्डर पुरन सिंह र जीवी याक्थुम्बाको निकट रहेर काम गर्नुभयो । १६ जुलाई १९४८ मा गठन भएको जनमुक्ति सेनामा शुरुदेखि नै लाग्नु भयो । उहाँ जनमुक्ति सेनाको संस्थापक सहसचिव हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसले बैरगनियामा महाधिवेशन गरेर मातृकाप्रसाद कोइरालालाई सर्वोच्च कमाण्डर बनाउदै क्रान्ति गर्ने निर्णय गरे अनुसार २००७ साल कात्तिक २६ गते (११ नोभेम्बर १९५०) राती ११ बजे भाइटीकाको दिन जनमुक्ति सेनाले एकैपटक बीरगञ्ज, विराटनगर र भैरहवामा आक्रमण ग¥यो । तामाङ शुरुमा वीरगञ्ज हुँदै अरु ठाउँमा खटिनु भयो ।

दिल्लीमा राजा, राणा र कांग्रेसका बीच त्रिपक्षीय सम्झौता भएपछि २००७ साल फल्गुन ४ गते राजपरिवार, कांग्रेसका नेताहरुसँगै जनमुक्ति सेनाको कमाण्डरहरु काठमाडौं आए । त्यो टोलीमा तामाङ पनि हुनुहुन्थ्यो ।

२००७ साल फाल्गुन २८ गते जनमुक्ति सेनालाई रक्षा दलमा परिणत गरियो । तामाङ रक्षादलको क्याप्टेन हुनुभयो । २०१२ सालमा रक्षा दल प्रहरीमा परिणत हुँदा तामाङ डीएसपी हुनुभयो । २०१५ सालमा डीएसपी भएर तामाङ नेपालगञ्ज आउनु भयो । उहाँ नेपालगञ्जको पहिलो डीएसपी कमाण्डर पनि हो । त्यसअघि नेपालगञ्जमा प्रहरी निरीक्षकले कमाण्ड गर्थे । २०१९ सालमा एसपीमा बढुवा भएर विराटनगर सरुवा भयो । धरानको पनि कमाण्ड गर्नु भएका तामाङ २०२७ सालमा एसपीबाट रिटायर्ड हुनुभयो ।

दोलखाको मकैबारीबाट काम खोज्दै तामाङका बराजु दार्जिलिङ पुगेका थिए । अंग्रेजले सन् १८२४ देखि २०३४ सम्म दार्जिलिङमा एक सय ३६ वटा चियाबगान खोलेको थियो । २००७ सालको क्रान्ति सफल भएपछि डीएसपी भएका बेला तामाङले आफ्नो परिवारलाई नेपाल ल्याउनुभयो । शुरुमा विराटनगरमा घर बनाउनु भयो । डीएसपी भएर नेपालगञ्जमा आएको बेला श्रीमतीले नेपालगञ्जलाई मन पराएपछि यही स्थायी बसोबास गर्नुभयो ।

२००७ सालका साक्षी तामाङको संस्मरणात्मक पुस्तक ‘पुरनसिंह, जीवी याकथुम्बा र म, २००७ सालको क्रान्तिको साक्षी’ प्रकाशन गर्ने तयारी भएको छ । जनक नेपालको सम्पादन र कुमार श्रेष्ठको सहलेखन रहेको पुस्तकको बैशाख ७ गते तामाङको वार्षिक पुण्यतिथिमा सार्वजनिक गर्ने तयारी भएको प्रकाशन गृह क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।