५० सेकेन्डमा सर्वाधिक १२५ नेपाली शब्द शुद्ध पढेर विष्णुदेवी माध्यमिक विद्यालय काठमाडौँकी कक्षा ५ की छात्रा सबिना थापा सर्वोत्कृष्ट पाठक बनेकी छन्।
पुस्तक उपहार दिवस (फेब्रुअरी १४) २०२१ को अवसरमा कक्षा ४ र ५ का बालबालिकालाई लक्षित गरी आयोजित एक मिनेट पढाइ प्रतियोगितामा काठमाडौँभित्र र बाहिरका विभिन्न २० विद्यालयका ३० बालबालिकाले सहभागिता जनाएका थिए। उनीहरूले पढेको एक मिनेटको भिडियोको आधारमा उत्कृष्ट सात छनोट गरी फाइनल प्रतियोगिता सरस्वती पूजाको अवसरमा जुममार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
प्रतियोगितामा दोस्रो स्थानमा तासिर इंगलिस सेकेन्डरी स्कूल, मकवानपुरकी कक्षा ५ की छात्रा रिभा न्यौपानेले जितेकी छन् भने आदित्य रेग्मी कक्षा ५ (विश्व निकेतन उ.मा.वि., काठमाण्डौ), बरदान धिताल- कक्षा ४ (आइडियल मोडल उ.मा.वि., काठमाण्डौ), रोमन खड्का- कक्षा ५ (जनज्योति मा.वि., काठमाण्डौ) ले क्रमश: तेस्रो, चौथो र पाँचौँ स्थान ओगटेका छन्।
अंग्रेजी मोहका कारण हेयमा परेको नेपाली भाषाप्रति बालबालिकाको आकर्षण बढाउन र पढ्ने बानी विकासमा प्रोत्साहन गर्न पुस्तक उपहार दिवसको दिन पारेर यो प्रतियोगिता आयोजना गरिएको आयोजक मेरो क्रियसन डिजिटल म्यागजिनले बताएको छ। कार्यक्रममा बालिकासँग पुस्तक र पुस्तक पढ्ने बानीको विषयमा अन्तरक्रियासमेत गरिएको थियो।
प्रथम हुने सर्वोत्कृष्ट पाठकलाई आकर्षक पुस्तकहरू, नगद र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो, तेस्रो, चौथो र पाँचौं हुने प्रतियोगिलाई पनि आकर्षक पुस्तकहरू र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।