नेपाल प्रज्ञा–प्रतिष्ठानले पुस्तक प्रदर्शनी आयोजना गरेको छ । वसन्त पञ्चमी, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा भानुभक्त बैठक कक्षमा आयोजना गरिएको पुस्तक प्रदर्शनीको कुलपति गङ्गाप्रसाद उप्रेतीले रिवन काटेर आरम्भ गर्नुभयो ।

सो अवसरमा कुलपति उप्रेतीले भन्नुभयो– “राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा सरस्वतीपूजाको अवसर पारेर आयोजना गरिएको यो प्रदर्शनी दुई सातासम्म चल्नेछ । यस प्रदर्शनीबाट पठन संस्कृतिको प्रवर्द्धन हुनुका साथै पुस्तकप्रेमीहरूले एकै स्थानबाट भाषा, साहित्य, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र लगायतका विविध विधाका महत्त्वपूर्ण पुस्तक प्राप्त गर्न सक्नेछन् । यो प्रदर्शनीको विशेषता यही नै हो ।”

प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनीअगि प्रज्ञा परिसरमा अवस्थित सरस्वती मन्दिरमा वसन्त पञ्चमीको उपलक्ष्यमा सरस्वती पूजा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञहरूले सरस्वतीलाई शिरमा राखेर प्राज्ञिक कार्यमा अगाडि बढेमा सफलता प्राप्त गर्न सकिने बताउनुभएको थियो ।

उपकुलपति डा. जगमान गुरुङले विद्याकी देवी सरस्वतीमाताको आराधना गरेमा सरस्वतीभक्तहरूको जीवन सार्थक हुने बताउनुभयो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कलाकारहरू विकासनाथ योगी, सुरेशराज बज्राचार्य, रमेश अधिकारी र रेखा थापाले वसन्त धुन र मङ्गल धुन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरूका साथै प्रज्ञा–प्रतिष्ठान कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण योजना तथा कार्यक्रम महाशाखाका बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।