उपन्यासकार ममता मृदुलको उपन्यास “स्पर्श” लाई नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा काठमाडौँको एक होटलमा सामूहिक विमोचन गरियो ।

विमोचित कृति ‘स्पर्श’लाई डा. धनप्रसाद सुवेदीले समालोचकीय दृष्टिकोण राख्नु भएको थियो । स्रष्टा समाजको अध्यक्ष विधान आचार्य, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, स्रष्टा बेञ्जु शर्मा, वरिष्ठ आख्यानकार पद्मवती सिंह, विष्णुबहादुर सिंह र शंकर भारतीले नेपाली उपन्यासको चर्चा परिचर्चा गर्दै उपन्यासकार ममता मृदुलको लेखनी कलालाई शुभकामना दिनुभयो ।

रात्रिभोजको आयोजना समेत गरिएको उक्त विमोचन कार्यक्रममा पवन आलोक, महेश प्रसाईं, जय छ्याङ्छा, डा. शैलेन्दुप्रकाश नेपाल, डा. भरत भट्टराई, राधेश्याम लेकाली, गोपाल कलाप्रेमी, बाबा बस्नेत, सुमन सौरभ, छविरमण सिलवाल, विनोद नेपाल, प्रकाश घायल, दीपक लोहनी, दुर्गा किरण तिवारी लगायत करिब साठी जना स्रष्टा र साहित्य अनुरागीहरूको उपस्थिति थियो ।

उपन्यास कृति “स्पर्श” लाई नारी स्रष्टा समाज, विराटनगरले प्रकाशन गरी उपन्यासकार समाज, काठमाडौंले विमोचन गराएको हो । कार्यक्रम निराजन महोदगल्यले सञ्चालन गर्नु भएको थियो । उपन्यासकार ममता मृदुलको यो सातौं कृति हो ।