श्रीकृष्ण सिम्खडालाई अधिकांशले क्यारिकेचर कलाकारका रूपमा चिन्छन् । उनले प्रख्यात नेताको आवाजलाई जस्ताको त्यस्तै निकालेर दर्शक हँसाउने क्षमता राख्छन् । यसै कलाकारिताले उनलाई धेरै ठाउँमा चिनाएको पनि छ ।
तर यस पटक उनी नयाँ अवतारमा देखा परेका छन् । उनले विभिन्न समयमा सिर्जना गरेका कविताहरूलाई संग्रहित गरी पुस्तकाकार दिएका छन् ।
‘श्रीकृष्ण सिम्खडाका कविताहरू’ शीर्षकको पुस्तकमा विभिन्न समयमा रचेका ३६ वटा कविताहरू संकलित छन् ।
गएको बिहीबार (२९ गते माघ) एक विशेष कार्यक्रमका बीच कवि तथा गीतकार एस्पी कोइराला उनकी आमा धनकुमारी काेइरालाले सिम्खडाको सो कृति विमोचन गरे । काेइराला पूर्व अर्थमन्त्री तथा पूर्व प्रशासक पनि हुन् ।
कार्यक्रमपछि प्रफुल्ल देखिएका सिम्खडाले आफ्ना सिर्जनाहरू कविताभन्दा बढी भावना भएको बताएका छन् । ‘यिनलाई म कविता भन्न सक्दिनँ तर असल मनबाट उब्जिएका भावना चाहिँ पक्कै हुन्,’ साहित्यपोस्टसँग कुरा गर्दै सिम्खडाले भने, ‘विभिन्न समयमा उब्जिएका भावनालाई मैले लिपिबद्ध गरेको हुँ । यसको साहित्यिक मूल्यका बारेमा म जान्दिनँ । त्यसैले पनि यसमा साहित्यिक कोणबाट खोज्न थाल्नुभयो भने केही पनि फेला पार्न सक्नु हुन्न होला । तर जब भावनाको कोणबाट केही खोज्नुभयो भने केही न केही पाउन सक्नुहुन्छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।