वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूको भनाइ छ ।

‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेका हौं’, घोषणापछि सत्यमोहन जोशीले भने।

शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच जाेशी दम्पत्तिले मृत्युपछि शरीर दान दिने घोषणा गरेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । दम्पत्तिले भौतिक शरीर मृत्युपछि किष्ट मेडिकल कलेजलाई दान दिने छन्।

१०१ वर्षीय जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रमा उनीहरूका छोरा अनुपराज जोशीको सहमतिको समेत हस्ताक्षर छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा कार्यक्रम आयोजना गरिएको हो ।