साहित्यकार एवं समाजसेवी मणिकुमार अर्ज्याल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको एक नम्बर प्रदेश समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

च्याप्टरको सोमबार विराटनगरमा आयोजित भेलाबाट अर्ज्याल सर्वसम्मत चयन भएका हुन् । अर्ज्यालसँगै समितिको उपाध्यक्षमा निर्मला कोइराला, सचिवमा सविता गौतम दाहाल, सहसचिवमा भगवती ढुंगेल र कोषाध्यक्षमा मेनका चापागाईं चयन भए ।

यसैगरी ९ सदस्यीय प्रदेश समितिको सदस्यमा राममणि पोखरेल, माया पौडेल, ईश्वर ओझा र ईश्वरी गौतम रहेका छन् । सर्वसम्मत अर्ज्याल नेतृत्वको कार्यसमितिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष डा. सन्ध्या पहाडी, महासचिव ऋषभदेव घिमिरे र कोषाध्यक्ष किशोर श्रेष्ठले अध्यक्ष पदको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष अर्ज्यालले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न तथा नयाँ सर्जकहरुलाई प्रोत्साहन गर्न आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै सोही कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई सम्मान गरिएको थियो । सुवेदीले नेपाली भाषा, साहित्य, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक समितिले जनाएको छ । सुवेदीलाई प्राज्ञ विवश पोखरेल, अध्यक्ष अर्ज्याल लगायतले सम्मान गरेका थिए ।