स्थापित कविहरुले यो वर्ष पनि प्रेम काव्योत्सव गर्ने भएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर नेसनल स्कुल अफ फिल्म एण्ड टेलिभिजन तथा एपेक नेपालले आयोजना गर्ने प्रेम काव्योत्सवमा यसपटकदेखि दैनिक साहित्यिक पत्रिका साहित्यपोस्ट पनि जोडिएको छ ।

यसपटक ७ महिला कवि र ७ पुरुष कविहरुले भाग लिनेछन् । सन् २०१२ देखि सुरु भएको प्रेम काव्योत्वसलाई यसपटकदेखि साहित्यपोस्टले आफ्नो युट्युब च्यानलबाट पनि प्रशारण गर्नेछ ।

‘राजनीतिका कारण देश घृणा, द्वेष, आरोप प्रत्यारोपमा उत्रिएको छ,’ प्रेम काव्योत्सवका संयोजक राजेन्द्र शलभ भन्छन्, ‘यो बेला प्रेम काव्योत्सवको अझ बढी आवश्यकता महसुस भयो ।’

राजनीतिका कारण स्रष्टाहरुसमेत विभाजित मानसिकतामा रहेका बेला यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा कविता वाचन गर्ने कविहरु सकेसम्म कुनै राजनीतिक दलका सदस्य नभएका, कुनै गुट उपगुटमा नरहेका स्वतन्त्र नागरिक समाजका व्यक्ति सम्बद्ध हुने अयोजकले बताएका छन् ।

‘प्रेम दिवशका दिन कम्तिमा स्रष्टाहरुबीच एकताको सन्देश दिन पनि यो कार्यक्रम गर्न लागिएको हो,’ शलभ भन्छन्, ‘हामी चाहन्छौँ, यो छोटो जीवन प्रेममय होस् । आनन्ददायी होस् ।’

भ्यालेन्टाइन डेका दिन साहित्यपोस्टले प्रेम विशेष सामग्रीहरु प्रकाशन गर्ने भएको छ । यही कार्यक्रमअन्तर्गत प्रेम पत्र तथा प्रेम कविता पनि परेका छन् ।

‘हामीले प्रेम विशेष सामग्रीहरु प्रकाशन गर्ने योजना बनाइरहँदा प्रतिष्ठित संस्थाले वर्षौंदेखि गरिरहेको प्रेम काव्योत्सवसँग पनि जोडिएका हौँ । यसले हामीलाई थप उत्साहित बनाएको छ,’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘हामी भ्यालेन्टाइन डेलाई साहित्य सिर्जनाको मिठो बहाना बनाउन चाहन्थ्यौँ । जसलाई नेसनल स्कुल अफ फिल्म एण्ड टेलिभिजन र एपेक नेपालले साथ दिएका छन् ।’

नेसनल स्कुल अफ फिल्म एण्ड टेलिभिजनले नेपाली साहित्यकारहरुलाई चलचित्रको व्याकरणमा आधारित कथा, पटकथा र संवादको तालिम दिइरहेको छ भने एपेक नेपाल नेपाली भाषा साहित्यको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको छ ।

अहिले प्रेम काव्योत्सवमा उपस्थित हुने कविहरुको कविता छनोट अन्तिम चरणमा पुगेको बताइएको छ ।