युवा पुस्ताहरू पछिल्लोसमय साहित्य लेखन र पठनमा अग्रसर देखिएका छन् । उपेन्द्र भुषाल यसैको ज्वलन्त उदाहरण हुन् । भुषालको उपन्यास सुहाना शनिबार विमोचन भएको छ । समीक्षक सुरेन्द्र अस्तफलले २० वर्षे तन्नेरीले ठूलो मेहनत गरेर एउटा प्रेमील उपन्यास पाठकहरूलाई पस्कन सकेको बताए ।

`उच्च शिक्षा पढ्दै गरेका युवा पुस्ताले प्रयोग गर्ने शब्दहरूलाई बिम्बका रूपमा प्रयोग गरिएको छ´, अस्तफलले भने- `प्रेमील आख्यान पढ्ने पाठकलाई सुहाना राम्रो पुस्तक हो ।´ उनले पुस्तकमा उच्च शिक्षा अध्ययनका क्रममा युवापुस्ताले भोग्ने गरेका प्रसङ्गलाई सिलसिला मिलाएर राखिएको पनि बताए ।

पुस्तकमाथि बोल्दै टिप्पणीकार नानी बिवुले लेखक भुषालले सानै उमेरमा पनि आफ्नै उमेर समूहको कथालाई पुस्तकका रूपमा तयार गरेको बताइन् । अर्की टिप्पणीकार बनिता शर्माले स्कुले जीवन सकेर उच्च शिक्षा अध्ययनका क्रममा भौंतारिएर पनि आफ्नो उदेश्यमा सफल भएको कथा किताबमा ल्याएकोले सुहाना विद्यार्थीहरूका लागि प्रेरणादायी पुस्तक भएको बताइन् । सुहानाको कथा र आवरण दुबै प्रेमील भएकोले युवापुस्तामा उपहार आदानप्रदान गर्न सुहाना राम्रो पुस्तक भएको प्रमुख वक्ता अस्तफलले बताए । `प्रेमदिवसमा आफ्नो प्रियजनलाई उपहारस्वरूप दिन सुहाना सुहाउँदो पुस्तक हो´- अस्तफलले भने ।

भाषाविद् डा. मतिप्रसाद ढकालले लेखक उपेन्द्र सानैदेखि साहित्य लेखनमा उत्सुकतापूर्वक लागेका स्रस्टा भएको बताए । साहित्यमा रुचि राख्ने उपेन्द्रले कलिलै उमेरमा पुस्तक लेखेर आफ्नो क्षमता प्रदर्शन गर्न सफल भएको बताए ।

सुहाना बिएन पुस्तक संसारले प्रकाशन गरेको हो । सम्पूर्ण किताबको आयोजनामा नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी साथै लेखकका हजुरबुबा चक्रपाणि भुसाल र हजुरआमा देवका भुसालले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा नानी बिवु फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद पराजुलीले स्वागत मन्तव्य दिए भने विनोदबाबु रिजालले सहजीकरण गरेका थिए । कार्यक्रमका अध्यक्ष लेखराम सापकोटाले सम्पूर्ण किताबले स्थानीय स्रस्टाहरूलाई अवसर सिर्जना गर्ने काममा निरन्तरता दिइने बताए ।