नेशनल स्कुल अफ फिल्म एण्ड टेलिभिजनको महिना १० दिने स्क्रिप्ट लेखनसम्बन्धी विशेष कार्यशाला सम्पन्न गरेको छ । कार्यशाला नेपाली लेखकहरुका लागि मात्र आयोजना गरिएको थियो ।

छोटो सूचनाको आधारमा आयोजित उक्त कार्यशलामा डा. रेणुका सोलु, शान्ति रिसाल, मन्दिरा मधुश्री, शशि थापा पण्डित, मीनराज बसन्त, हेमाङराज गिरी लगायत लेखकहरु प्रशिक्षार्थीका रुपमा उपस्थित थिए ।

‘स्क्रिन राइटिङ् अर्थात् चलचित्रको आलेख लेखनको औपचारिक ज्ञान दिने तथा यसको माध्यमबाट नेपाली साहित्यकारहरुलाई सिनेमा र वेबसिरिज लेख्न प्रोत्साहन गर्नु हो’, कार्यशालाको उदेश्यबारे बोल्दै एन.एस.एफ.टी.का राजेन्द्र शलभले बताए, ‘यसबाट मुख्यतः दुईवटा फाइदा हुनेछन् । एक, नेपाली लेखकहरुले चलचित्र लेखन थाले भने नेपाली सिनेमाले थप राम्रा कथा पाउने छन् । दुई, साहित्यकारहरुले पनि एउटा नयाँ विधाको लेखनमा लागेर नाम र दाम कमाउने अवसर बन्न सक्छ ।’

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सहभागीहरुलाई प्रकाणपत्र वितरणका क्रममा भने, ‘यस्तो कार्यक्रम निरन्तररुपमा हुनुपर्छ, जसले नेपाली चलचित्रलाई कथाको अभावबाट उन्मुक्ति दिनेछ । यसै उद्देश्यले नै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को अवधारणा ल्याएको हो ।’