Chovar Blues Mobile Size

साहित्यलाई व्यवसायिक बनाउने अभियानमा लागेको घोस्ट राइटिङ् प्रा.लि.ले साहित्यपोस्टसँग मिलेर प्रत्येक साता लघुकथा प्रतियोगिता गर्ने भएको छ । २ सयवटा पुस्तक प्रकाशन गरिसकेको घोस्ट राइटिङ्ले लघुकथा लेखनलाई आम पाठकसम्म पुुर्याउन प्रतियोगिता गर्न लागेको हो । ५० सातासम्म चल्ने उक्त प्रतियोगितालाई साहित्यपोस्ट दैनिक डिजिटल पत्रिकाले व्यवस्थापन गर्नेछ ।

यस विषयमा साहित्यपोस्ट र घोस्ट राइटिङ्बीच सम्झौता भएको छ । जसअनुसार उत्कृष्ट रचनाहरुलाई वर्षका उत्कृष्ट प्रतियोगी लघुकथा नामक पुस्तक प्रकाशन गर्ने, आख्यानकारहरुलाई प्रत्येक साता मनपरेका पुस्तकसहित पुरस्कृत गर्ने र त्यसलाई जिजिटलाइज्ड गर्ने योजना रहेको छ । वर्षको अन्त्यमा सर्वोत्कृष्ट लघुकथाहरुलाई ३० हजार, २० हजार र १० हजार नगदसहित सार्वजनिक सम्मान पनि गरिने जनाइएको छ । सम्झौतामा घोस्ट राइटिङ्का तर्फबाट कमल ढकालले हस्ताक्षर गरेका छन् भने साहित्यपोस्टका तर्फबाट यसका प्रधान सम्पादक अश्विनी कोइरालाले हस्ताक्षर गरेका छन् ।

हरेक साता उत्कृष्ट भएका लघुकथाहरु सन् २०२२ को सुुरुमा पुुस्तकका रुपमा प्रकाशन हुने छ । जसलाई भौतिकरुपमा घोस्टराइटिङ् प्रा.लिले प्रकाशन गर्नेछ भने डिजिटल भर्सन साहित्यपोस्टमा पढ्न पाइनेछ ।

श्रीओम श्रेष्ठ‘रोदन’

प्रतियोगितामा हरेक साता तीन जना निर्णयक रहने व्यवस्था गरिएको छ । ती मध्ये दुुई जना स्थायी निर्णायक र एक जनाआमन्त्रिक निर्णायक रहने छन् । आमन्त्रित निर्णायकहरु भने परिवर्तन भइरहने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

स्थायी निर्णयकहरुमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्वसम्पादक श्रीओम श्रेष्ठ रोदन र साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहेका छन् । विगत ४० वर्षदेखि साहित्य क्षेत्रमा लागिरहेका रोदनलाई लघुुकथाकारहरुलाई संघठित गरेको जस जान्छ । त्यसैगरि दीपक लोहनी केही वर्ष यता लघुकथामा खोज अनुसन्धान गरिरहेका छन् । उनी हरेक मंगलबार साहित्यपोस्टमार्फत लघुकथा र लघुुकथाकारहरुको खोजी गरिरहेका छन् ।

आमन्त्रित निर्णायकहरुमा प्रतिष्ठित लघुकथाकार, लघुकथा अभियन्ता र लघुकथामा खोज अनुसन्धान गर्ने समालोचकहरु रहनेछन् ।

दीपक लोहनी

‘केही वर्षयता घोस्ट राइटिङ्ले तीन महिने सिर्जनात्मक लेखन कक्षा सञ्चालन गरिरहेको छ । अहिलेसम्म तीन सयभन्दा बढी व्यक्तित्वहरुले साहित्यमा प्रशिक्षण लिइसक्नु भएको छ ।’ घोस्टराइटिङ्का प्रबन्ध निर्देशक कमल ढकालले साहित्यपोस्टसँग भने, ‘ती कक्षाहरुको अनुुभवबाट विभिन्न विधाका प्रतियोगिता गरेर नव स्रष्टाहरुलाई व्यवहारिक ज्ञान दिनुपर्ने आवश्यकता महसुुस भएको थियो । यो प्रतियोगिताबाट देशभित्र र बाहिर रहनु भएका सबै किसिमका स्रष्टाहरुले लघुुकथा लेखनमा आफूलाई निखार्ने अपेक्षा गरेका छौँ ।’

ढकालका अनुसार हाल घोस्ट राइटिङ्को बानेश्वरस्थित लेखनकुुञ्ज कार्यालयबाट मात्र सिर्जनात्मक लेखनको प्रशिक्षणको व्यवस्था छ । यस्ता प्रतियोगिताले संसारभरि छरिएर रहेका स्रष्टाहरुले लघुुकथाको अभ्यास गर्न पाउने छन् ।

साहित्यपोस्टले यसअघि पनि फोटो कविता प्रतियोगिता र मुक्तक प्रतियोगिता गरिरहेको छ । लघुकथा प्रतियोगिता सुरु भएलगत्तै गजल प्रतियोगिता पनि सुरु हुनेछ । गजल प्रतियोगिताको प्रायोजन गजल मुुसायरा र इनोभेटिभ एसोसिएट्सले गर्ने भएका छन् ।

नयाँ प्रतियोगिताहरु केही दिनमै सुरु हुने जनाइएको छ ।