२०७७ माघ १० गते विराटनगरको एउटा साहित्यिक कार्यक्रमको मञ्च साहित्यिकभन्दा ज्यादा राजनैतिक व्यक्तित्वको उपस्थितिले खचाखच थियो ।
खुशीको कुरा के थियो भने त्यस सभामा बोल्ने भूतपूर्व उपप्रधानमन्त्रीदेखि लिएर विघटित प्रतिनिधिसभका सांसदसम्मले साहित्यलाई माया गर्ने कुराहरु मात्र गरे । सबै वक्ताहरुले राजनीतिक विषयवस्तुलाई थोरै मात्र उल्लेख गर्दै योभन्दा ज्यादा साहित्यिक सभामा बोल्न सुहाउँदैन भन्ने सन्देश दिँदै साहित्यिक सभाको मर्यादा राख्न खोजेको पनि देखियो । यद्यपि ती राजनैतिक व्यक्तित्वले देशका समसामयिक विषयमा केही कुरा प्रष्ट पार्नु आफ्नो कर्तव्य ठान्दै ती विषयमा पनि पेचिलो ढंगबाट केही व्यक्त गरेको देखियो ।
साहित्यकार दधिराज सुवेदीको नाममा स्थापित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आयोजित उक्त सभामा रु. ५१ हजारको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि विष्णुविभु घिमिरेलाई (२०७६का लागि) र एस्पी कोइरालालाई (२०७७ का लागि) समर्पण गरिएको थियो । यसैगरी रु. २५ हजारको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार मोहन भण्डारीलाई (२०७६का लागि) र हरिहर विरहीलाई (२०७७ का लागि) समर्पण गरिएको थियो । ती दुवै पुरस्कार समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले समर्पण गरेका थिए ।
हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कारहरु यस अघि साहित्यतर्फ डा. गोविन्दराज भटराई, डा. अभि सुवेदी र डा.माधवप्रसाद पोखरेललाई प्रदान गरिएको थियो भने पत्रकारितातर्फ क्रमशः पत्रकारहरु हरिबहादुर थापा,शिववहादुर कार्की र किशोर नेपाललाई प्रदान गरिएको थियो ।
ती दुबै पुरस्कारका लागि पुरस्कार कोषको स्थापना साहित्यकार दधिराज सुवेदीका छोराहरु शरदराज सुवेदी र रुपकराज सुवेदीले गरेका हुन् ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कवि विष्णुविभु घिमिरेले २०३६/३७ सालको परिवेशमा लेखिएको ‘हरायो’ शीर्षकको कविता वाचन गर्दै मुलुक अहिले फेरि ४० वर्ष अगाडिको त्यही अवस्थामा पुगेको कुरा स्मरण गरे ।
पूर्व मन्त्री डा.मीनेन्द्र रिजालले साहित्य साधानाका लागि दधिराज सुवेदीको त्याग एवं समर्पण प्रशंसनीय रहेको उल्लेख गरे । विघटित प्रतिनिधिसभाका सांसद डा.डिला संग्रौला तथा विराटनगर महानगरपालिकका मेयर भीम पराजुलीले पनि आफ्ना पिताका नाममा छोराहरुले पुरस्कार स्थापना गर्नु सत्कर्म भएको बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।