साहित्यकार महेश पौड्याल र समीक्षक रमा अधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७७ का लगि बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय पुरस्कार कोषले गरेको छ । बालक प्रेम भक्तपुरको गठ्ठाघरस्थित इमान्युल एकेडेमीमा कक्षा ७ का विद्यार्थी हुन् ।
कोषका अध्यक्ष बालसाहित्यकार कार्तिकेय घिमिरेको अध्यक्षतामा, शनिबार काठमाडौँमा बसेको बैठकले उक्त पुरस्कारका लागि चितवनकोे इच्छाकामना नगरपालिका, वडा नम्बर ६ का १३ वर्षीय बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय गरेको छ ।
रू. ११,१११ धनराशी तथा प्रमाणपत्र रहेको उक्त पुरस्कार फाल्गुन महिनामा प्रदान गरिने पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले साहित्यपोस्टलाई जानकारी गराएकी छिन् । प्रतिकूल आर्थिक अवस्थाका बीच पछाडिएको र अल्पसङ्ख्यक जातिका रूपमा चिनिएको चेपाङ समुदयमा हुर्केका प्रेम चेपाङलाई उनको प्रतिभाको विकास गर्न तथा उनको समुदायलाई नै प्रतिभा विकासको बाटोमा लाग्ने प्रेरणा प्रदान गर्नका लागि यो छनोट गरिएको अधिकारीले बताइन् ।
२०७५ मा स्थापित यो पुरस्कार यसअघि मस्तिष्क घातका कारण हाटखुट्टा चलाउन नसक्ने तर नाकले लेख्ने दोलखाका बालकवि दर्शन केसी, तथा प्रतिभाशाली वक्ता काभ्रेकी तारा तामाङलाई प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।