शकुन्तला प्रधानलाई यस वर्षको मखमलीकमल महिला गीतसंगीत पुरस्कार प्रदान  गरिने भएकाे छ । गीत संगीतका क्षेत्रमा पाँच दशकदेखि सक्रिय योगदान पुर्याउँदै आएकी प्राध्यापक संगीतसाधक प्राज्ञ प्रधानलाई पुरस्कार प्रदान गर्ने निर्णय छनोट समितिको बैठकले सर्वसम्मत गरेकाे हाे ।

छनोट समितिमा वरिष्ठ लोकप्रिय संगीतकार राजु सिंह, संगीतकार कृष्ण गुरूङ तथा वरिष्ठ गीतकार उन्नति बोहरा शीलाको संगलग्नत रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीकी अध्यक्ष साहित्यकार तथा समाजसेवी गीता खत्रीले मखमलीकमल महिला गीतसंगीत पुरस्कारको स्थापना गरेकी हुन् । सो पुरस्कार गीत र संगीतमा साधनारत नेपाली महिलालाई प्रदान गर्ने गरिएको छ । हरेक २ वर्षमा वितरण गरिने सो पुरस्कारको राशी रु. २५ हजार रहने छ । सो पुरस्कारको व्यवस्थापन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गर्ने भएको छ ।

सो अवसरमा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र के.सी., महासचिव ऋृषभदेव घिमिरे, भानु प्रतिष्ठानको अध्यक्ष हरिबोल ढकाल आदिको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता अनेसास नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार सन्ध्या पहाडीले गरेकी थिइन् ।