ज्योति साहित्य प्रतिष्ठानले १७५ औँ कवितायात्रा भर्चुअल माध्यमबाट यही माघ २ गते शुक्रबार सम्पन्न गर्यो ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा प्रमुख अतिथि कवि तथा व्यङ्ग्यकार रामकुमार पाँडे नर्वेको ओस्लोबाट जोडिएका थिए । विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार स्रष्टा समाजका अध्यक्ष विधान आचार्य र वरिष्ठ कवि कलानिधि दाहाल रहेका थिए ।

त्यस्तै अतिथि कविहरूमा महेश खरेल, लक्ष्मीप्रसाद मिश्र, चन्द्रा न्यौपाने, द्वारिका कुइँकेल, रेणु घिमिरे, निर्मल रमण अधिकारी, सङ्गीता ठाकुर, सुधा ढकाल, लक्ष्मी बडाल, सरीता भट्टराई नेपाल, पवन बुढाथोकी, निरु बिन्दु (कालेबुङ्ग), आर्त आकुलिन, जीविका अश्रु (गान्तोक), भारती बस्याल, चन्द्रावती अधिकारी लगायत अन्य कविहरुले कार्यक्रममा उत्कृष्ट रचना वाचन गरेका थिए ।

कार्यक्रम सञ्चालन सुशीला ढकाल अधिकारीले गरेकी थिइन् ।

प्रमुख अतिथि कवि तथा व्यङ्ग्यकार रामकुमार पाँडेले आजको कार्यक्रम उच्चस्तरको कवि सम्मेलन भएको महसुस भयो भन्दै राष्ट्रिय समस्याका कुराहरुको उठान गर्दै व्यङ्ग्यात्मक तवरले कविहरु राष्ट्र्वादी हुँदै राष्ट्रलाई नै जुरुक्क उचाल्ने व्यङ्ग्यात्मक कविता हुनुपर्ने बताउँदै आफ्ना सुन्दर रचना हाइकु र मुक्तक वाचन गरेका थिए ।

त्यस्तै अर्का विशिष्ट अतिथि विधान आचार्यज्यूले कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै महिला र पुरुष कविको बराबर उपस्थितिमा खुसी व्यक्त गरे । उनले एउटा मार्मिक कविता र एउटा प्रेमिल गजलसमेत सुनाएका थिए ।

त्यस्तै अर्का विशिष्ट अतिथि वरिष्ठ कवि कलानिधि दाहालले आफ्नो उत्कृष्ट कविता पस्किएका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति मणिराज सिंहले कार्यक्रममा कविता वाचन गर्दै आगामी ज्योति साहित्यको कार्यक्रम प्रत्येक महिनाको पहिलो शुक्रबार ठीक २ बजे भर्चुअल माध्यमबाट गरिने कुरा बताउँदै आफ्नो अमूल्य समय निकालेर विभिन्न ठाउँबाट स्रष्टा जोडिएर कार्यक्रम सफल बनाइदिएकामा सबैलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरे ।

सुशीला ढकाल अधिकारी