सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताका सर्वोत्कृष्ट कविलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच सर्वोत्कृष्ट भएका रौतहटका मनोज बिश्वकर्मालाई नगद पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट दस कविलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो । सर्वोत्कृष्ट कवि, उत्कृष्ट कविहरु र शिव त्रिपाठी, आवाज शर्मा लगायत एक दर्जन अतिथि कविहरुले कार्यक्रममा कविता वाचन पनि गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. योगी विकाशानन्द, विशिष्ट अतिथिद्वय प्राज्ञहरु वरिष्ठ गायिका तथा कवि हरिदेवी कोइराला र बिम्ब कवि रमेश श्रेष्ठ एवम् प्रतिष्ठानका पदधिकारीहरुले प्रतियोगिताका छानिएका कविताहरुको संग्रह “कविताहरुको सगरमाथा” को संयुक्त विमोचन गरेका थिए ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल गन्डकी शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष अमन एकल, महासचिव शाश्वत गोविन्द ढुंगाना, संस्थापक जिपि तिवारी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गन्डकी शाखाकी उपाध्यक्ष छन्दिका त्रिपाठी र सन्चालन सचिव लिली अधिकारीले गरेका थिए । कार्यक्रमको सभापतित्व गण्डकी शाखाका अध्यक्ष शम्भु अर्यालले गरेका थिए । कार्यक्रममा करिब डेढसय लेखक साहित्यकारहरुको उपस्थिति थियो ।
पुरस्कार वितरण र पुस्तक विमोचन कार्यक्रमको संयोजक केन्द्रीय सचिव अजित क्षेत्री रहेका थिए । कार्यक्रमको लाइभ प्रसारण पोखराको एभरेस्ट एफएमले गरेको थियो भने युट्युब च्यानल र फेसबुक पेजबाट पनि कार्यक्रम अवधिभर लाइभ प्रसारण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिद्वय हरिदेवी कोइराला र रमेश श्रेष्ठलाई सम्मानस्वरुप संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, अर्घाखाँची, लमजुङ, बाँके, चितवन, नवलपरासि, झापा, लगायतका जिल्लाका बीस भन्दा बढी साहित्यिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय संयुक्त अरब इमिरेट्समा रहेको छ भने यसका केन्द्रीय अध्यक्ष कृष्ण बिश्वकर्मा हुन् । २०६९ सालमा गठन भएको यस संस्थाले विगतका केही वर्षयता बर्सेनि विभिन्न विधामा अन्तर्राष्ट्रिय प्रतियोगिता र पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।