हतुवागढी गाउँपालिका वडा नं. ९, हसनपुरस्थित “हसनपुर कला-साहित्य प्रतिष्ठान”ले आगामी पौष २९ देखि माघ १ गतेसम्म हसनपुर साहित्य महोत्सव – २०७७ को आयोजना गर्ने भएकाे छ।
“कला, साहित्य र संस्कृती हाम्रो पहिचान: यसको संरक्षण र सम्वर्द्धनका लागि हाम्रो अभियान” नारासहित स्थापित प्रतिष्ठानले दुई दिनसम्म विभिन्न सेसनमा कार्यक्रम संचालन गर्नेछ ।
निर्धारित कार्यक्रम अनुसार पौष २९ गते नृत्य प्रतियोगितासहित कार्यक्रमको उद्घाटन गरिनेछ भने अक्षरयात्रामा हतुवागढी: हिजो, आज र भोलि शीर्षकमा सञ्जाल राईले कविहरु प्रकाश दिप्साली, विश्वजित चाम्लिङ्ग र कृपालसिंह राईसँग अन्तक्रिया गर्नेछन् । पहिलो दिनको अन्तिम सेसन “हामी र हाम्रा कविताहरु” को रहनेछ । उक्त सेसनमा हतुवागढीसहित विभिन्न ठाउँबाट आमन्त्रित १४ जना कविहरुले कविता वाचन गर्नेछन् ।
महोत्सवको दोस्रो दिनको पहिलो सेसनमा हतुवागढी सिन्द्राङ्गका कवि पुर्णसन्ध्या समाधिको कविता कृति टेकेर गुराँसमाथि” को विषयमा अन्तरङ्ग कुराकानी गरिनेछ । अघिल्लो वर्ष प्रकाशित सो कविताकृतिका बारेमा गजलकार अरुण आकाशले कृतिकार समाधिसहित धनकुटाका कवि मुकुन्द प्रयासँग सम्वाद गर्नेछन् । टेकेर गुराँसमाथि कृतिका लागि आवरण डिजाइनसमेत गरेका कवि प्रयास स्थापित लेखक तथा फाइन आर्टिस्ट/चित्रकार हुन्।
दोस्रो दिनको दोस्रो सेसनमा हाम्रा गजलशेरहरु रहनेछ । हतुवागढीका सहित १० जना आमन्त्रित अतिथी गजलकारहरुको गजल सुनाउने यो सेसनपछि अन्तिममा गायक तथा संगीतकार कृष्णभक्त राईको एकल गायन रहने आयोजकले जानकारी गराएको छ ।

 

सबै कार्यक्रमहरु जनसेवा माध्यमिक विद्यालयमा सम्पन्न हुनेछन् ।

साथै, महोत्सवको अवधिभर विभिन्न साहित्यिक विधाका पुस्तकहरु प्रदर्शनीमा राखिनेसमेत आयोजकले जनाएको छ ।