ज्योति साहित्य प्रतिष्ठानले जारी राखेको कवितायात्रा शृंखलाको १७३ औँ शृंखलालाई विशेष बनाएको छ । गएको पुस १७ शुक्रबार सम्पन्न सो शृंखलाअन्तर्गत प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम तथा पुरस्कृत हुने कविहरूको विशेष भेला गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरुका रचना र रोचक अनुभवहरु सुन्न पाइएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ थिए । यस्तै विशिष्ट अतिथिमा २०५० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवका विजेता कवि भीष्म उप्रेती हुनुहुन्थ्यो ।
सोही अवसरमा कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७७ का विजयी कविहरु प्रथम – भैरवी भूगोल , द्वितीय – प्रज्वल अधिकारी , तृतीय – गणेश खतिवडा र रेजिना अम्गाईँले आफ्ना पुरस्कृत कविता वाचन गरेका थिए।
सोही क्रममा कार्यक्रम सञ्चालिका सुशीला ढकाल अधिकारीले कविहरुसँग प्रश्नोत्तर पनि गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो चरणमा पुरस्कृत कवि र कार्यक्रममा सहभागी अन्य कविहरु चन्द्रा न्यौपाने, लक्ष्मी बडाल, सरिता भट्टराई नेपाल, निरु विन्दु, रामेश्वर श्रेष्ठ, रेनु घिमिरे दीक्षा सुवेदीले आफ्ना एक-एक ओटा रचना वाचन गरेका थिए ।
विशिष्ट अतिथि भीष्म उप्रेतीले हरेस नखाई निरन्तर अभ्यास गरेमा सफलता हासिल गर्दै शिखर चुम्न सकिने कुरा बताए । उनले २०५० सालको कविता महोत्सवमा प्रथम भएको कविता वाचन गरी मन्त्रमुग्ध समेत पारेका थिए ।
त्यस्तै प्रमुख अतिथि सरुभक्त श्रेष्ठले पुरस्कृत कविताहरु पुरस्कृत कविहरुकै मुखराविन्दुबाट श्रवण गर्न पाउँदा खुसी व्यक्त गर्दै पुरिष्कृत सबै रचनाहरुको उत्तिकै महत्त्व रहेको कुरा बताए । सरुभक्तले पनि महोत्सवमा प्रथम भएको अनुभव बाँडेका थिए ।
अन्त्यमा सभापति मणिराज सिंहले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै यस्तो अमूल्य समय निकालेर विभिन्न ठाउँबाट स्रष्टा जोडिएर कार्यक्रम सफल बनाइदिएकामा धन्यवादसहित उनको २०७३ सालमा महोत्सवमा प्रथम भएको कविता वाचन गरी कार्यक्रम समापन गरेका थिए ।
सुशीला ढकाल अधिकारी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।