पछिल्लो राजनीतिक परिवर्तन तथा संसद् भङ्गविरूद्ध विभिन्न राजनीतिक दलहरू यतिबेला आन्दोलनमा छन् । संसदले कल्पना नै नगरेको अवस्था ल्याइएको भन्दै दलहरूसँगै कविहरू पनि यसविरूद्ध देखिएका छन् ।

आज दिउँसो दर्जनभन्दा बढी कविहरूले माइतीघर मण्डलमा कविता वाचन गरी सरकारको प्रतिगमनविरूद्ध उभिएका छन् ।

कविता वाचन गर्नेहरूमा भूपाल राई, विप्लव प्रतीक, श्रवण मुकारूङ, विनोदविक्रम केसी, विमला तुम्खेवा, शकुन्तला जोशी, स्वप्नील स्मृति, संगीत, लक्ष्मी रूम्बा, छम गुरूङ, नवीन प्यासी, स्वागत नेपाल लगायत थिए । सो सभामा अंकला बराम, जेबी विश्वकर्मा लगायतले पनि धारणा व्यक्त गरेका थिए । कार्यक्रमलाई युग पाठकले सञ्चालन गरेका थिए ।

नौमती बाजा समूहले भने बाजा बजाएर प्रतिगमनको विरोध गर्यो ।