स्वेच्छा राउत, मनुश्री महत, हरि खनाल र बिकेश कविन

पठन संस्कृतिको विकासका लागि के, कस्तो पहल गर्न सकिन्छ भन्नेबारे पोखरामा जारी आईएमई लिटरेचर फेस्टिभलमा युवा पुस्ताले आफ्ना भनाइ राखे । ‘पढ्ने र पढाउने हुटहुटी’ शीर्षक सत्रमा इटहरीका विकेश कविन, कपिलवस्तुका हरि खनाल र काठमाडौंकी मनुश्री महतले भाग लिएका थिए । उनीहरू सबै विद्यार्थी हुन् ।

मान्छे थुप्रै भ्रम, सिमितता र संकिर्णतासाथ बाँचिरहेको हुने भएकाले यसबाट बाहिरिन पठन आवश्यक रहेको बिकेशले बताए । ‘लेखक हुनलाई पाठक हुनैपर्छ, उनले भने, ‘कविता, निबन्ध र संस्मरण लेख्छु म । भाषिक सौन्दर्य, शब्दभण्डार बढाउन पढ्नै पर्छ । पठनका बेला हामीभित्रको हामीसँग हुन्छम् । स्वान्त सुखायको अवस्थामा पुग्छौं ।’

कक्षा १० की छात्रा मानुश्रीले चाहिँ कोर्स बाहिरको किताब पढ्दा मान्छेहरूले खिसी गर्ने गरेको बताए । ‘तर, बाहिरको किताब पढ्दा कोर्समा नभएको कुरा थाहा हुन्छ,’ उनले भनिन्, ‘आख्यान पढ्दा अर्को मान्छेको जीवन बुझिन्छ, उनीहरूमार्फत् समाजका अन्य मानिसको भावनाहरू बुझिन्छ । गैर–आख्यान रियल लाइफको अनुभव, अप्स एन्ड डाउन्स बुझिन्छ । हाम्रो प्रस्पेक्टिभ नै ब्रोड हुन्छ ।’

सानो छउन्जेल पढ्न खोजेका सबै पुस्तक भेटे पनि पढाइको दायरा बढ्दै जाँदा खोजेका किताब भेटिन छोडेको मानुश्रीको गुनासो थियो । पठनलाई आफूमा मात्र सिमित नराखेका हरिले चाहिँ विगत दुई महिनायता विभिन्न कारागाराहरूमा पुस्तक वितरण गर्दै आएका छन् । राष्ट्रिय पुस्तकालयको अभियन्तासमेत रहेका उनी अरूलाई पढाएर र किताबको सहाराले आनन्द बटुलिरहेको गरिरहको बताउँदै थिए ।

‘आफू बाच्नुको सम्बन्ध आफूसँग मात्रै हुँदैन,’ हरिले भने, ‘वृक्षले फल उत्पादन गर्छ तर त्यो फल आफू खाँदैन । मैले पनि आफू मात्र पढ्न चाहिनँ । अरुलाई पढाएर, किताबको साहराले आनन्द बटुलिरहेको छु । विवेकानन्दका अनुसार खाना दिए केही घण्टालाई, वस्त्र दिए केही महिनाको लागि, ज्ञान दिए जिवन्त रहन्छ ।’

हरिझैँ बिकेशले पनि ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुपमार्फत् अन्यलाई पढ्न पे्रररित गर्दै आएका छन् । सन् २०१७ सालमा ग्रुप सुरु गरेका उनी हाल डेढ सय टपिकका लेख–रचना जम्मा पारेर त्यसको संग्रह गर्दैछन् । ‘आजभन्दा १०/२० वर्षअघिका लेखहरू खोज्ने मान्छे टन्नै छन्,’ उनले भने, ‘कसैले मागेमा हामीसँग भएका ईं–लेख उपलब्ध गराउन सक्छौं ।’

आफूले झैं पठनको रुची सेयर गर्ने दुई÷तीन जनामात्रै साथी भएको मनुश्रीको भनाइ थियो । उनीहरूसँग कुराकानी गर्न खूब रमाइलो लाग्ने उनले बताइन् । कोर्सबाहिरका किताब खासै नपढ्ने साथीहरूलाई उनी विभिन्न पुस्तक र तिनका पात्रबारे बताएर पठनमा उत्साहित गराउन खोज्दी रहिछन् । बिकेशले किताब पढ्नु मात्रै पठन नभएको भनाइ राख्दा युट्युबमार्फत् कार्यक्रम लाइभ हेरिरहेका निखिल खत्रीले उनको कुरा राम्रो लागेको प्रतिकृया दिएका थिए ।

‘सबैजना पढ्न मान्छे पाठक होइनन्,’ बिकेशले थपे, ‘पाठक यात्री हो । पुस्तक पढिसकेपछि पनि पठन सकिँदैन । पठन मूल कुरा हो भने चिन्तन, मनन महत्वपूर्ण कुरा हो । परिवारमा एक जनाले पढ्यो भने पठनको बिउ रोपिन्छ ।’ घरमा लेख–पढ गर्ने वातावरण नभए पनि आफू कुन संयोगले यो दुनियाँ आइपुगेँ भन्नेबारे बिकेश छुस्स सेयर गर्न भ्याए ।

कारागारामा पुस्तक उपलब्ध गराउनुको अभिप्रायबारे पत्रकार स्वेच्छा राउतले बुझ्न खोज्दा हरिले दिएको जवाफ रोचक मानियो । उनले भने, ‘प्रकाशको आवश्यता त्यहीँ हुन्छ जहाँ अन्धकार हुन्छ । हाम्रो माग के छ भने कारागारलाई बन्दी गृह नबनाएर प्रज्ञा केन्द्र बनाइयोस् । स्वतन्त्रताको अनुभव आफूभित्रै निहित हुन्छ । जसले आफूलाई बुझेको छ, ऊ कारागाराभित्र रहेका पनि स्वतन्त्र हुन्छ । उसलाई बन्दी भन्न मिल्दैन ।’

‘अपराध गर्नेलाई सजाय दिनुपर्छ, किताब होइन’ भन्ने खालका प्रतिकृया आउँदा आफूलाई नमिठो लाग्ने गरेको हरिले बताए । ‘मान्छे जन्मिँदै अपराधी हुँदैन,’ उनले भने, ‘अपराध त समाजदेखि जन्मिरहेको छ, त्यो समाज भनेको तपाई–हामी नै हो । अपराधीले फाँसी दिने हो भने हामी आफैं पनि फासीमा चढ्न सक्नुपर्छ, सकिन्छ त ?’ कारागारबाट पुस्तकहरूको माग आउन थालेयता आफूहरूलाई अलि समस्या परेको उनले जानकारी दिए । ‘हामी आफैं विद्यार्थी हौ, फन्डिङको स्रोत छैन,’ उनले भने, ‘डोनेसनको किताबमा भर पर्नुपर्छ । मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।’

हरिसँगको प्रसंग मोड्दै मध्यस्थकर्ता राउतले मधेसी मुलका बिकेशलाई भाषाका कारण पठनका बाधा–अड्चन पुग्ने, नपुग्नेबारे सोधेकी थिइन् । बिकेशले आफू मिश्रित समुदायमा हुर्केको हुँदा सबै भाषीभाषीमा अपनत्व महसुस हुने बताए । ‘म थारु र नेपाल भाषा बरोबर सुन्छु,’ उनले भने, ‘पठनको अभावले कुसुन्डा भाषा लोप भइसक्यो । मलाई त मुन्धुम, किरात भाषा सबै मेरै हो जस्तो लाग्छ । अन्य भाषासँग मलाई पठनले नै नजिक बनाएको हो ।’