हरेक वर्ष मनाइने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले यस पटक अलि पृथक् कार्यक्रमका साथ मनाउने भएको छ । यसै क्रममा पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय कविता प्रतियोगिता आयोजन गर्ने भएको छ ।

यसका लागि इच्छुक कविहरूले “राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वी नारायण शाह”सम्बन्धी भावमा कविता लेखी पठाउन सकिने छ ।

कविता यही पुस २० गते ४ बजेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा kabitapra@nepalarmy.mil.np इमेलमा पठाउन सकिने जनाइएको छ । प्रतियोगितामा छानिएका कविताहरुको संग्रहहरु जंगी अड्डा परिसरमा स्थापना हुने “पृथ्वीनारायण शाह अध्ययन केन्द्र”मा राखिने र उत्कृष्ट २५ कविताहरु संग्रह पुस्तकको रुपमा प्रकाशित गरिनेछ भने उत्कृष्ट १० कविहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र उपलब्ध गराइने जनाइएको छ ।

यसैगरी “एकीकरण मार्ग कार्यक्रम” पनि आयोजन गरिने भएको छ ।

पदयात्रा पुस २१ गते गोरखाबाट शुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै २६ गते हनुमानढोका आइपुग्ने बताइएको छ । सो पदयात्रामा सहभागी समूह पुस २७ गते जङ्गी अड्डामा हुने कार्यक्रममा भाग लिनेछ ।

पदयात्रामा नेपाली सेना, स्थानीय जनता तथा विद्यार्थीहरु समावेश हुनेछन् ।

यसै पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले खडा गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरुको निशान, नेपालको राष्ट्रिय झण्डा र “एकीकरण ज्योति” (Unification Torch) समावेश गरिने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।