नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको सुभद्रा विश्वराज स्रष्टा सम्मान शास्त्रीय शैलीमा काव्य सिर्जना गरी नेपाली साहित्यमा योगदान पुर्याउने वरिष्ठ साहित्यकार रमेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ । ४० बढी छन्दमा कविता लेख्ने कुशल, सिद्धहस्त छन्दकवि खकुरेलका दर्जन बढी कविता, खण्डकाव्य, महाकाव्य, यात्राकाव्य सङ्ग्रहहरू प्रकाशित छन् । १० हजार राशिबाट शुरु भएको यो सम्मान स्थापनाको चौथो वर्षमा नै २१,१११ रूपैयाँ पुर्याइएको छ । सुभद्रा विश्वराज स्रष्टा सम्मान समाजका वर्तमान अध्यक्ष विधान आचार्यले स्थापना गरेका हुन् ।

त्यस्तै प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा सम्मान वर्ष २०७७ का लागि साहित्यकार अनुपम रोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । उपन्यास, कथा, निवन्ध, गजल, कविता आदि विषयमा कलम चलाउने रोशीले युवा वर्ष मोति, उत्कृष्ट निवन्ध, नूर गङ्गा आदि पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् । यस सम्मानको राशि ११,१११ रूपैयाँ रहेको छ । प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा सम्मान समाजका पूर्व महासचिव चेतनाथ कणेल र निजकी श्रीमती सीता कँडेलले स्थापना गरेका हुन् ।

समाजको पुस ११ गते हुने साधारण सभाबाट उल्लेखित सम्मान गरिने नेपाल स्रष्टा समाजले जनाएको छ । नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष पाँच प्रकारका सम्मान प्रदान गर्दै आएको छ ।

विगत ११ वर्षदेखि समाजसुधारक योगमाया न्यौपानेका नाममा समाजका पूर्व अध्यक्ष तथा संरक्षक पवन आलोक लगायतले स्थापना गरेको योगमाया राष्ट्रिय सम्मान, विगत तीन वर्षदेखि राजेश न्यौपाने र केदार नेउपानेले स्थापना गरेको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान तथा वर्तमान महासचिव पुष्पा खनालले स्थापना गरेको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान पनि समाजले प्रदान गर्दै आएको छ ।