हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा ‘देश देशावर’ले बाजी मारेको छ । तिहारपछाडि बजारमा आएको लेखक जीवा लामिछानेको पुस्तकले मंसिर महिनाभरि आधिपत्य जमाएको हो । नेपाली बजारमा दसैँ-तिहार वरपर पुस्तकको बिक्री उत्कर्षमा पुग्छ । तर दसैँ तिहारपछि पुस्तक बिक्रीलाई ‘देश देशावर’ले धानेको देशभरिबाट आएको रिपोर्टले देखाएको छ । सामाजिक सञ्जालहरुमा ‘देश देशावर’को चर्को प्रचार भएपछि काठमाडौँ उपत्यकामा देखिएको उछाल बिस्तारै देशका अन्य सहरहरुमा पनि देखिएको थियो । काठमाडौँ, चितवन, पोखरा, बुटवल र इटहरीमा ‘देश देशावर’ मंसिर महिनाभरि एक वा दुई नम्बरमा रह्यो । अन्य पुस्तक किन्न बजार गएका पाठकहरुले पनि ‘देश देशावर’लाई खरिद गरको विक्रेताहरुले जनाएका छन् ।
साहित्यपोस्टले गएको अशोज महिनायता बेस्ट सेलर किताबहरुको सूची प्रकाशन गर्दै आएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्टसेलर बुकको सूचीलाई आधार बनाइरहेको छ । जसअनुसार असोज र कात्तिक महिनामा मदन पुरस्कार विजेता ‘महारानी’ले बजारमा आफ्नो पकड जमाएको थियो । मंसिर महिनामा भने चन्द्रप्रकाश बानियाँको यो उपन्यास आठौँ स्थानमा झरेको छ । देशभरिबाट आएको रिपोर्टअनुसार असोज र कात्तिक महिनामा ठूलो संख्यामा ‘महारानी’ किताब बिक्री भएका कारण पनि यसको बिक्री कम भएको हो ।
‘दसैँ र तिहारभरि ‘महारानी’ अत्यधिक बिक्री भयो, त्यसको असर मंसिर महिनामा देखिएको हो,’ सम्पूर्ण पुस्तक चितवनका लेखराम सापकोटा भन्छन्, ‘यति हुँदाहुँदै पनि ‘महारानी’ अहिले पनि फाट्टफुट्ट बिक्री भइरहेको छ ।’ सापकोटाको जस्तै अनुभव देशभरिका बिक्रेताहरुको पनि छ । नेपालमा निरन्तर किताब पढ्ने पाठकहरुको संख्या सानो भएका कारण पनि केही अपवादबाहेक एउटै पुस्तक धेरै बिक्री हुँदैन । तिनै पाठकले नयाँ पुस्तक खोज्ने गर्छन् । यिनै पाठकहरुले अहिले ‘देश देशावर’लाई रोजेका हुन् ।
यसअघि दोस्रो नम्बरमा परेको विजयकुमारको पुस्तक ‘सम्बन्धहरु’को बिक्री पनि सुस्ताएको छ । ‘सम्बन्धहरु’ लगातार दुई महिनासम्म दोस्रो नम्बरमा थियो तर मंसिर महिनामा ‘सम्बन्धहरु’ दोस्रोबाट झरेर पाँचौँ नम्बरमा पुगेको छ । यसपटक दोस्रो स्थानमा आहुतिको पुस्तक ‘जात वार्ता’ आइपुगेको छ । जात प्रथाको उन्मूलनका विषयमा राजनीतिक अभियान सञ्चालन गरिरहेका आहुति अहिले धेरै पढिने लेखकमध्ये पर्दछन् । नायक राजेश हमालले सञ्चालन गरेको टेलिभिजन टक सो विवादमा आएपछि पनि मानिसलाई जातसम्बन्धी विषयलाई विद्वान वर्गले चासोपूर्वक हेरेका छन् । जसलाई ‘जातवार्ता’ पुस्तकको बिक्रीले पनि पुष्टि गरेको देखिन्छ ।
विकसित देशहरुमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।
त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले तेस्रो महिनाको सूची प्रकाशन गरेको हो ।
पढ्नुहोस्, यसपटक बेस्ट सेलर सूचीमा परेका पुस्तक र बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहितः
१) देश देशावरः सफल व्यवसायी एवं लेखक जीवा लामिछानेको एक महिनाअघि बजारमा आएको पुस्तक ‘देश देशावर’ साहित्यपोस्ट बेस्ट सेलर सूचीमा प्रथम भएको छ । मंसिर महिनाभरि बिक्री भएका पुस्तकहरुका आधारमा यो पुस्तकले देशभरिबाट बिक्रीका आधारमा पहिलो भएको हो । काठमाडौँ उपत्यकाका २० वटा स्टेसन, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० गरी ३१ वटा स्टेसनलाई आधार मानेर हेर्दा यो पुस्तकले प्रथम स्थान हासिल गरेको हो ।
यसअघि लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ बजारमा आएको थियो । उक्त पुस्तक पनि दुई वर्षअघि त्यस वर्षको बेस्टसेलर पुस्तक मध्येको एक बनेको थियो । नेपालमा ५ हजार भन्दा बढी बिक्री हुने पुस्तकलाई बेस्टसेलरको उपाधि दिने गरिन्छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रसिद्ध व्यवसायी भएका कारण पनि लामिछानेलाई त्यसको लाभ प्राप्त भएको देखिन्छ । नियात्रामा फरक भूगोलको यात्रा भित्रका ज्ञान सरल भाषामा दिएका कारण उनको पुस्तक पाठकहरुले रुचाएको देखिन्छ ।
२) जातवार्ताः विश्वभक्त दुलालबाट समाजमा अपहेलित भएका ‘आहुति’ राजनीतिकर्मी र लेखक हुँदै गर्दा प्रसिद्धि कमाएका छन् । उनको ‘गहुँगोरो अफ्रिका’ प्रसिद्ध पुस्तकमध्ये पर्दछ । इन्जिनियरिङ् पढ्दै गर्दा कम्युनिस्ट राजनीतिमा लागेका आहुति माओवादी शान्तिवार्तामा आएपछि सार्वजनिकरुपमा चिनिन थालेका हुन् । उनका कविता र राजनीतिक लेख निकै रुचाइन्छन् ।
यसैबीचमा आएको ‘जातवार्ता’मार्फत् उनी बेस्टसेलरमा पनि उक्लिएका छन् । कान्तिपुरका नियमित स्तम्भकार आहुतिका किताबहरु अहिले दलितबीच मात्र होइन, गैरदलितबीच पनि लोकप्रिय हुन थालेको छ ।
३) अर्थ राजनीतिक विमर्शः नेपाली राजनीतिमा सबैभन्दा बढी प्रशंसक र सबैभन्दा बढी आलोचक कमाएका नेता हुन्, डा. बाबुराम भट्टराई । सामाजिक सञ्जालहरुमा यिनले लेखेका टिप्पणीहरुमा पनि यसको छनक पाइन्छ । यिनै राजनीतिकर्मीले लेखेको पुस्तक अर्थ राजनीतिक विमर्श पुस्तक मंसिर महिलाको तेस्रो बढी बिक्री हुने पुस्तक बनेको छ । २२ वटा लेखहरुको संगालोका रुपमा आएको यो पुस्तकभरि वैकल्पिक शक्तिको आवश्यकता र यसको महत्त्वबारे प्रकाश पारिएको छ । यसलाई राजनीतिक कार्यकर्ताहरुले बढी किनिरहेको बिक्रेताहरुले जनाएका छन् ।
४) सत्ता र सत्यः चर्चित लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको पुस्तक ‘सत्ता र सत्य’ यस पटक पनि बेस्ट सेलर सूचीमा परेको छ । यसअघि असोज र कात्तिक महिनामा पनि यो पुस्तक बेस्टसेलरको सूचीमा थियो । असोजमा यो पुस्तक छैटौँमा परेको थियो भने कात्तिकमा यो सातौँ नम्बरमा परेको थियो । सङ्ग्रौलाको अनुवाद गरेको यो पुस्तक विश्वप्रसिद्ध राजनीतिशास्त्री एवं दार्शनिकहरुको आलेखहरुको संग्रह हो । यो पुस्तक दल निकट कार्यकर्ताहरुले एकअर्कालाई सिफारिस गरिरहेका कारण तेस्रो महिना पनि बेस्ट सेलरको सूचीमा परेको मानिएको छ ।
५) सम्बन्धहरुः प्रकाशन भएदेखि नै चर्चामा रहेको विजयकुमारको पुस्तक ‘सम्बन्धहरु’ तेस्रो महिना पनि बेस्टसेलरको सूचीमा परेको छ तर गएका दुई महिना दोस्रो लहरमा रहेको यो पुस्तक तेस्रो महिना आइपुग्दा पाँचौँमा झरेको छ । पछिल्लो समय युवा पुस्ताले यो पुस्तक किनिरहेको बिक्रेताहरुले बताएका छन् ।
६) क्रान्ति प्रतिक्रान्तिः अघिल्लो महिना पाँचौँ नम्बरमा परेको ‘क्रान्ति प्रतिक्रान्ति’ पुस्तक यो महिना छैटौँमा झरेको छ । प्रकाशन भएको महिना निकै सुस्त गतिमा बिक्री भइरहेको यो पुस्तकलाई दोस्रो महिना पनि बेस्ट सेलर बनाउने काम भने नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णु रिजालले गरेका हुन् । उनले पुस्तकको चर्को आलोचना गरेर कान्तिपुरमा लेख लेखेपछि राजनीतिक कार्यकर्तामा यो पुस्तकप्रति चासो जागेको बिक्रेताहरुको भनाइ छ ।
७) मुसा मानुसः गनेश पौडेलद्वारा अनूदित पुस्तक ‘मुसा मानुस’ प्रकाशन भएको तेस्रो महिना फेरि बेस्टसेलरको सूचीमा परेको छ । यसअघि दसैँको छेको पारेर गरिएको सर्वेक्षणमा यो पुस्तक तेस्रो नम्बरमा परेको थियो तर दोस्रो महिना भने यो पुस्तक बेस्टसेलरको सूचीबाटै गायब भयो । दसैँको मुखमा निस्किएको यो पुस्तक नयाँ प्रकाशन भएसँगै पाएको प्रचारले उचालेको थियो । दोस्रो महिना भने यसको बिक्री सुस्त भएको देखियो तर तेस्रो महिना पुनः यसको बिक्री केही बढेको देखिएको छ ।
८) महारानीः मदन पुरस्कार विजेता ‘महारानी’ले दुई महिनासम्म बिक्रीको मानक खडा गरेको थियो । तेस्रो महिना भने यसको बिक्रीमा केही सुस्तता छाएको देखिन्छ । यसको बिक्री काठमाडौँ उपत्यकाको तुलनामा सहरोन्मुख गाउँमा बढी भइरहेको छ । यद्यपि बिक्रेताहरुले ‘महारानी’ लामो रेसको घोडा भएकाले कुनै महिना कम बिक्री हुनुले यो पुस्तकको बिक्रीप्रति सन्तोष जनाएका छन् ।
९) वैशालीकी नगरबधूः लगातार तेस्रो महिना पनि बेस्टसेलरको सूचीमा परेको ‘वैशालीकी नगरबधू’ अनूदित पुस्तक हो । भारतका प्रख्यात उपन्यासकार आचार्य चतुरसेनको यो पुस्तक भारतीय बजारमा पनि धेरै रुचाइएको पुस्तकमध्ये पर्दछ । नेपालमा हालै मात्र अनूदित भएको यो पुस्तक साहित्यपोस्टको बेस्टसेलरमा पहिलो महिना आठौँ र दोस्रो महिना चौथो नम्बरमा परेको थियो ।
१०) ‘मोसो’ र ‘कम्मरीदेखि कोभिड कहर’: चितवनबाट प्रकाशन भएका मोसो र कम्मरीदेखि कोभिड कहर उपत्यकाबाहिर सबैभन्दा बढी बिक्री हुने पुस्तकहरुमध्ये पर्दछन् । ‘मोसो’ सूर्यप्रकाश कँडेलको उपन्यास हो भने कम्मरीदेखि कोभिड कहर प्रा डा कृष्णप्रसाद कँडेलको ज्ञानमूलक पुस्तक हो । ‘मोसो’ले पत्रकारिता भित्रको विकृति उजागर गरेको छ भने ‘कम्मरीदेखि कोभिड कहर’ले जनस्वास्थका सरोकारको विषय उठान गरेको छ । यही कारण यी २ पुस्तक साहित्यपाेस्टकाे बेस्ट सेलरकाे दसाैँ स्थानमा परेका हुन् ।
यी ११ पुस्तकबाहेक ‘सत्ता र स्वप्नदोष’, दमनराज तुलाधरको आत्मकथा, नेपाल नखुलेका पाटाहरु, हंश, सिंहदरबारको घुम्ने मेच, भोल्गादेखि गंगासम्म, मोक्षभूमि, डुमेरो जस्ता पुस्तकहरु पनि राम्रो बिक्री हुने सूचीमा परेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।