बालबालिकासम्बन्धी किताब प्रकाशन गर्ने कथालयबाट ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ शीर्षकको बालकथा प्रकाशित भएको छ ।
सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन् । एक दिन उनले अचम्मको समाचार पढ्छिन्, ‘चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदैछ ।’
उनलाई यो कुरा पढेर ‘अब के हुने हो ?’ भन्ने चिन्ता लाग्छ । त्यो उल्काले पृथ्वीलाई ठक्कर दिन लागेको थाहा पाएपछि उनको चिन्ता झनै बढ्छ । तर सुपरमु सजिलै हार मान्ने गाई हैनन् । उनले इन्टरनेटबाट साथीहरुसँग यो समस्याबारे छलफल गर्छिन् । उनीहरु सबै मिलेर एउटा उपाय निकाल्छन् ।
त्यो उपाय के होला ? सुपरमुले र उनका साथीहरुले पृथ्वीलाई कसरी बचाए होलान् ?
पाठकमा यस्तै प्रश्न र जिज्ञासा जगाउने रमाइलो कथाका चित्रहरू पनि आकर्षक छन् । यसले कथालाई अझै रोचक बनाएको छ । लेखक फती एर्दोआनले नै बनाएका चित्र हेरेर मात्रै पनि बालबालिकाले कथाबारे धेरै कुरा थाहा पाउन सक्छन् । किताब आठ नौ वर्षका बालबालिकाप्रति लक्षित छ ।
त्यस्तै ‘म ढिलो भएँ’ पुस्तक बालबालिकाका लागि लेखिएको उनको अत्यन्तै चर्चित बालपुस्तक शृंखला हो । हालसम्म यो शृंखलाको १० लाखप्रति बिक्री भइसकेको छ । यो किताब अंग्रेजी, चाइनिज, बोस्नियन, अजरबैजानी, अरबिक, मलयामी आदि भाषामा प्रकाशित भइसकेको छ ।
‘म्याभीबुलुत’ किताबको मूल प्रकाशक हो । टर्कीमा १९८० मा स्थापना भएको म्याभीबुलुत बालबालिका केन्द्रित किताब निकाल्ने पहिलो बालसाहित्य प्रकाशन गृह हो । यसको स्थापना लेखक फती एर्दोआनले गरेका हुन् ।
बालसाहित्यमा करिब ७० वटा किताब लेखिसकेका उनको १० लाखभन्दा बढी किताब बिक्री भइसकेका छन् । उनका प्रायः किताबमा उनले बनाएका चित्रहरु प्रयोग भएका छन् ।
सन् १९८० मा उनले लेखेको पहिलो किताब ‘पान एन्ड हिज फ्लावर’ ले बेस्ट पिक्चर बुक अवार्ड पाउन सफल भएको थियो । त्यसयता हरेक वर्षजस्तै उनी उत्कृष्ट लेखक (बालसाहित्यको) सूचीमा पर्दै आएका छन् ।
टर्कीका उत्कृष्ट किताब र लेखकको सूचीमा पटक पटक पर्दैआएका उनले कयौं राष्टिय पुरस्कार जितेका छन् ।
उनी बालसाहित्यकै विश्व प्रतिष्ठित एस्ट्रिड लिन्डग्रेन मेमोरियल अवार्ड (एलएमए अवार्ड)का लागि २०१६ देखि २०१९ सम्म लगातार मनोनित भएका थिए
मेसिडोनियन र नेपाली भाषामा प्रकाशित ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ ८ हजारप्रति बिक्री भइसकेको छ । एर्दोआनको कथालाई नेपालीमा भिक्टर प्रधानले अनुवाद गरेका छन् ।
३४ पृष्ठको यो किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ भने म ढिलो भएँ २० पृष्ठको यो किताबको मूल्य १५० रुपैयाँ तोकिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।