साहित्यकार खगेन्द्र संग्रौला एउटा ट्विटका कारण विवादमा आएका छन् । उनको पछिल्लो ट्विटमा आफ्नो नयाँ अनुदित पुस्तकको सर्वस्वीकृतिका लागि युवापुस्ताका लोकप्रिय लेखक सुविन भट्टराईलाई मुछेपछि उनी विवादमा आएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्ः चाबेलको एक पुस्तक पसलमा एक मनुवाले अत्तालिँदै आएर भनेछन्, ‘यो पुस्तक कडा रहेछ, पढ्न सकिनँ, पैसा फिर्ता दिनोस् ।’
‘समर लभ’ र ‘साया’ टाइपका पुस्तक पढेर विद्वान कहलिएका जीवातको रूचि र बौद्धिकताको स्तर उकास्नु पुसतक कर्मको धर्म होला कि नहोला ? गम्भीर लेखकलाई एक गम्भीर प्रश्न ।’
उनको यो ट्विट हिजो राति सवा ७ बजे सार्वजनिक भएपछि त्यसबारे तीव्र प्रतिक्रिया आएका छन् ।
तीन लाख १० हजार सात जना उनका फलोअर छन् । उनले २ सय ९७ जनाले फलो गरिरहेका छन् । अधिकांशले उनको चर्को आलोचना गरेपछि हिजै राति अबेर उनले कदाचित अहम् र आत्मश्लाघा झल्किएको अर्थ लागे क्षमाप्रार्थी छु मान्यवर भनी दिनेश पन्तको ट्विटरमा जवाफ लेखेका छन् ।
विभिन्न अनलाइन तथा पत्रपत्रिकामा कडा टिप्पणीका लागि उनी चर्चित छन् ।
उनको सो ट्विटलाई ८९ जनाले रिट्विट गरेका छन् भने ४०९ जनाले रियाक्ट गरेका छन् । ७२ जनाले जवाफ फर्काएका छन् ।
वरिष्ठ पत्रकार गोविन्द अधिकारीले त्यसको जवाफमा लेखेका छन्, ‘पाठकको स्तरमा लेखक झर्ने हैन, लेखकको स्तरमा पाठकलाई उकास्ने हो ।’
पत्रकार अधिकारीले दुई अर्थमा यस्तो प्रतिक्रिया दिएका भए पनि धेरैले संग्रौलाको यस्तो प्रतिक्रियालाई अनुचित मानेका छन् । केहीले त संग्रौलाकै स्तर नभएको र तुच्छ गाली र अपाच्य शब्द लेख्ने कुण्ठाग्रस्त मनोरोगी भएको टिप्पणी गर्दै अर्धसाक्षर कम्युनिष्टहरूले लेखकजस्तो मानिदिएकोसम्म भन्न भ्याएका छन् ।
अर्का पत्रकार कृष्ण आचार्यले एक समय आफ्नै र सुविनका अगाडि समर लभ राम्रो लागेको प्रतिक्रिया दिएको भए पनि यसरी ट्विट गर्नु केका लागि भनी प्रश्न गरेका छन् ।
केहीले यस्तो प्रतिक्रियाले आरिसको गन्ध आएको प्रतिक्रिया दिएका छन् । केहीले संग्रौलालाई घमण्डीसमेत भनेका छन् । लेखक रामेश कोइरालाले चाहिँ ‘दाजु, नगरौँ न यसो’ भनी चेताएका छन् ।
केहीले चाहिँ संग्रौलाले किताब फिर्ता गर्न खोजेको बनावटी कहानी कथेर यस्तो प्रतिक्रिया दिएको समेत लेखेका छन् । केहीले संग्रौलालाई लेखकलाई नहोच्याउन सुझाव दिएका छन् ।
आयूष कार्की लेख्छन्, ‘समर लभ र साया पढेर नै मेरो पढ्ने बानी विकास भा हो। अहिले बल्ल हजुरको लेख, किताब पढ्दैछु । केही बुझ्छु, केही बुझ्दिनँ । हजूरजस्तो मान्छेले यस्तो भनेको पटक्कै सुहाएन ।’
केहीले भने उनलाई होशमा आउन सुझाव दिएका छन् ।
अनीता लामा लेख्छिन्, ‘पाठकको आफ्नो च्वाइसलाई यत्रो खिल्ली किन ?’
त्यसो त उनको समर्थकहरू पनि देखिएका छन् । कुमार पौडेलले नेपाली बामपन्थको वर्तमान वैचारिक स्तर । मूल्यांकन मासिक पढ्न डराउने मनुवा होला दाइ । मैले त पढिसकेँ । यस्ता पुस्तक धेरै छापिनु जरूरी छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

