शिक्षा क्षेत्रमा आफ्नो पकड बनाएका शिक्षाविद् डा. मनप्रसाद वाग्लेद्वारा लिखित ‘यौन शिक्षा’ नामक खण्डकाव्य सार्वजनिक भएको छ । विमोचन छन्द चौतारी, प्रतीभा निकुन्ज र कोक गोष्ठीको सहकार्यमा सम्पन्न भएको हो ।
पुस्तकको विमोचन गर्दै आधुनिक आँसु कवि रमेश खकुरेलले पुस्तकको महत्व, रचनाकारको परिपक्वता र यौन शिक्षाको बारेमा समाजको आवश्यकता बारेमा प्रकाश पारेका थिए । कवि भुवनहरि सिग्देलले उक्त पुस्तक यौन–विज्ञान नै भएको मन्तव्य राखे ।
त्यस्तै, स्वागत मन्तव्य राख्दै साहित्यकार कोषराज न्यौपानेले पुस्तकको महत्वबारे प्रकाश पारेका थिए । समीक्षा कवि कृष्ण शरण उपाध्यायले पुस्तकको अपरिहार्यताका बारेमा ब्याख्या गरे भने सार्वजनिक गरिएको पुस्तक ‘यौन शिक्षा’ खण्डकाव्यबाट टिका आत्रेय, कल्पना भट्टराई र शिव त्रिपाठीले केही श्लोक वाचन गरेका थिए ।
जुम प्रविधिबाट गरिएको उक्त पुस्तक सार्वजनिकीकरण कार्यक्रममा आफ्नो कृतिबारे बोल्दै डा. वाग्लेले भने, ‘विद्यालय र कलेजमा पढ्ने सबै विद्यार्थी र १० वर्ष उमेरदेखि माथिका र वृद्धवृद्धासमेतलाई अनौपचारिक रूपमा यौन शिक्षा पस्कनु पुस्तकको मुख्य उद्देश्य हो ।’
अहिलेको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै सो कार्यक्रम जुम प्रविधिबाट गरिएको थियो भने समारोहमा विभिन्न वरिष्ठ कविहरूको उपस्थिति रहेको थियो ।
शिखा बुक्सले प्रकाशन गरेको उक्त खण्डकाव्य सर्वत्र बजारमा उपलब्ध भइसकेको प्रकाशकले बताएका छन् भने उक्त बहुउपयोगी पुस्तकको मूल्य रु. २१५ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।