ओलाङचुङगोलाका बासिन्दा वालुङ जातिमा प्रचलित परम्परागत लोकभाकालाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राई केही दिनअघि स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरेका छन् ।

नेपालको रैथाने संस्कृति तथा लोकभाका वालुङ लोकभाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरी राजधानी फर्केका प्रख्यात सङ्गीतकार तथा सङ्गीत संयोजक प्राज्ञ राईले ओलाङचुङगोलामा बसोबास गर्दै आएको वालुङ जातिमा प्रचलित वालुङ लोकभाकाको सङ्कलन उक्त भाकाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले गरिएको बताए ।

उनले भने, ‘वालुङका संस्कार, संस्कृतिसमेत समेटेर लोकभाकाको बृत्तचित्रसमेत बनाउने योजना छ । वालुङ जातिमा घर सर्ने, विवाह संस्कार र भेटघाट रमाइलो गर्ने संस्कारसँग सम्बन्धित फरक फरक लोकसङ्गीत तथा लोकभाका प्रचलनमा रहेको तर हाल विविध कारण लोपोन्मुख अवस्था पुगेको पाइयो ।’

प्राज्ञ राईलाई अध्ययन, अनुसन्धान र सङ्कलनका लागि स्थानीय लोचक लामा रइतले सहजीकरण गरेका थिए भने स्थानीय याङमाक नुपुले लोकभाकाहरू सङ्कलन गर्न सहयोग गरेका थिए ।