कुमार नगरकोटीको प्रकाशोन्मुख पुस्तक ‘कल्प–ग्रन्थ’को अग्रिम–बुकिङ नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक संस्था इसेवाले गर्ने भएको छ । नेपालमै पहिलोपटक प्रिमियम संस्करणका रूपमा प्रकाशन हुन लागेको सो पुस्तकको अग्रिम भुक्तान गर्ने बारे इसेवा नेपालका प्रमुख बजार अधिकृत युवराज विष्ट र बुक–हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काबीच आज सम्झौता भएको हो ।

अग्रिम भुक्तानका लागि ग्राहकले इसेवाको मोबाइल एपमा गई ‘कल्प–ग्रन्थ प्रि–बुकिङ’ क्लिक गर्नुपर्नेछ । त्यहाँ रहेको फाराममा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल र पुस्तकको मूल्य रुपैयाँ २०२१ भरेर आफ्नो प्रति सुरक्षित गर्न सक्नेछन् । २ वा सोभन्दा बढी पुस्तकको अर्डरमा २ प्रतिशत क्सासब्याक पनि ग्राहकले प्राप्त गर्नेछन् ।

“हामीले उपभोक्ताका हरेक रुचीलाई मध्यनजर गरी भुक्तान सेवा उपलब्ध गराउँदै आइरहेका छौं । यसपालि समाजलाई चेतनशील बनाउने पुस्तकको अग्रिम–भुक्तानसँग जोडिएर काम गर्दै छौं । यो हाम्रो सामाजिक उत्तरदायित्त्व पनि हो,” सम्झौतापछि विष्टले भने ।

विश्वव्यापीरूपमा परिवर्तन भैरहेको पुस्तक बजार र लेखनलाई मध्यनजर गर्दै अग्रिम–भुक्तानबाट यो पुस्तकको बजारीकरण गर्न लागेको बुक–हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले बताए, “यो पुस्तक लेखनमा पूर्णतया नयाँ प्रयोग हो, त्यसैले बजारीकरणमा पनि हामीले प्रयोग गरेका हौं ।”

आगामी फागुन १ गतेसम्म अग्रिम–भुक्तानको सुविधा रहेको यो पुस्तक प्रि–अर्डर संख्या मात्रै मुद्रण हुनेछ । ७७७ पेजको पुस्तक विशेष कागजमा छपाइ हुनुका साथै पुस्तकका साथमा झोला, पोस्टकार्ड, बुक–मार्कलगायतका सामग्री पाठकले प्राप्त गर्नेछन् । साथै, हरेक ग्राहक प्रतिमा लेखक कुमार नगरकोटीको विशेष अटोग्राफसमेत रहने प्रकाशक बुक–हिलले जनाएको छ ।

पुस्तक आगामी चैत १४ गते सार्वजनिक हुनेछ ।