लेखक बीएन जोशीले वैदेशिक रोजगारीसम्बन्धी संस्मरण संग्रह ‘श्रमाटन’ पाठकमाझ ल्याएका छन् । साहित्यकार कुमारी लामा, राजकुमार बानियाँ, आन्विका गिरी, लक्ष्मी रुम्बा, मालिका केशरी, लेखक जोशी र प्रकाशक मणि शर्मालगायतले उक्त संस्मरणकृति सीमित मित्रमाझ राजधानीमा सार्वजनिक गरे ।

कार्यक्रममा निबन्धकार एवं समीक्षक कुमारी लामाले जोशीका संस्मरणमा सन् नब्बेको दशकदेखि परदेशी भूमिमा रोजगारीको क्रममा भुइँमान्छेले भोगेका साझा पीडाको प्रकीकरण पाएको बताइन् भने पत्रकार एवं समीक्षक राजकुमार बानियाँले जोशीको पुस्तक संस्मरण भए पनि आख्यानको स्वाद दिन सफल रहेको टिप्पणी गरे ।

कार्यक्रममा जोशीले पारिवारिक असहमतिका बाबजुद कलिलै उमेरमा वैदेशिक रोजगारीमा जाँदा पाइलैपिच्छे गर्नुपरेको संघर्षलाई नै इमानदारीपूर्वक लेखेको बताए भने पुस्तकका प्रकाशक मणि शर्माले जोशीको वैदेशिक रोजगारी वृत्तान्त प्रकाशन गर्न पाएकामा सन्तोष व्यक्त गरे । सांग्रिला बुक्सले छापेको पुस्तकमा १६ वटा आत्मसंस्मरण छन् ।

जोशीका यसअघि ‘मोडर्न बेली’ र ‘निरर्थक’ उपन्यास प्रकाशित छन् ।