मूलद्वारबाट छिर्नासाथ देखिन्छ, भित्तामा एउटा भाँडो झुन्ड्याइएको छ । आगन्तुकहरू गेटबाट छिर्नासाथ उक्त भाँडामुनि हात थाप्छन्, भाँडोबाट आफसेआफ तुरुरु सेनिटाइजर हातमा झर्छ । यसरी हातमा सेनिटाइजर दलेपछि उपस्थितहरू माथिल्लो तलामा प्रवेश गर्छन् । सभाहलको दायाँतर्फ अतिथि, शिक्षकहरूका लागि र बायाँतर्फ विद्यार्थीका लागि कुर्सीहरू तयार छन् । भौतिक दूरी कायम गरि राखिएका कुर्सीमा अतिथि, प्रतिस्पर्धी र आगन्तुकहरू बसिसक्छन् । निर्णायकहरू छुट्टै कोठामा निर्णयका आधारहरूबारे छलफल गर्न केहीबेर व्यस्त छन् ।
प्रमुख अतिथिलाई मूलद्वारमा स्वागत गरिसकेपछि कार्यक्रमका सञ्चालक शिवराज पौडेल हातमा फाइल लिएर मञ्चमा उक्लिए । प्रमुख अतिथि, अतिथि, निर्णायकलगायतलाई आसन ग्रहण गराएपछि उनले स्वागत मन्तव्यका लागि नेसनल प्याब्सनका सह क्रियाकलाप संयाोजक राजु केसीलाई निम्त्याए । केसीले उपस्थितलाई स्वागत गर्दै कार्यक्रमको महत्त्वबारे केहीबेर बोले । उनले कोभिड-१९ सँगसँगै हिँड्नुको विकल्प नरहेकाले अब विद्यालय सञ्चालन गरी जनजीवन सामान्य बनाउनुपर्ने बताउँदै कोभिड-१९ लाई हाउगुजी बनाउन नहुने बताए । शैक्षिक गतिविधि भौतिक रूपमा सुरु गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
त्यसपछि प्रमुख अतिथिले पानसमा दिप प्रज्ज्वलन गर्दा गड्गडाहट ताली बज्छ । आठ महिनापछि प्रत्यक्ष रूपमा यस प्रकारको कार्यक्रममा उपस्थित हुँदा विद्यार्थीहरूमा छुट्टै अनुभूति भएको अनुभव गर्न सकिन्थ्यो । यसपछि निर्णायक समितिका संयोजक सह प्रा. डा. लक्ष्मीशरण अधिकारीले निर्णयका आधार प्रस्तुत गरे ।
यसपछि सुरु भयो प्रतिस्पर्धा । कार्यक्रम सञ्चालकले एकपछि अर्को गर्दै प्रतिस्पर्धी विद्यार्थीलाई आमन्त्रण गर्दै गए । विद्यार्थीहरू मञ्चको दायाँपट्टि रहेको माइकअगाडि उभिएर ‘शैक्षिक क्षेत्रमा कोभिड-१९ को प्रभाव’ शीर्षकमा केन्द्रित भएर आफ्ना तर्क, तथ्याङ्क र विवरण प्रस्तुत गरिरहेका छन् । निर्णायक समितिका सदस्यहरू डा. लक्ष्मीशरण अधिकारी, डा. कपिल अधिकारी र दिनेश अर्याल विद्यार्थीका तर्क र कलालाई कसी लगाएर मूल्याङ्कन गरिरहेका थिए । शिक्षक एवम् सम्पूर्ण उपस्थितहरू ध्यान दिएर सुनिरहेका थिए ।
विद्यार्थीहरूले कोरोनाका कारण परेका शारीरिक, सामाजिक, आर्थिक प्रभावको पृष्ठभूमि कोट्याउँदै शैक्षिक क्षेत्रमा परेका सकारात्मक नकारात्मक प्रभावका केस्राकेस्रा केलाएका थिए । आफू र आफूजस्ता विद्यार्थीले सहज सिकाइमा लाग्न नपाएको सम्झँदै शिक्षक र अभिभावकले भोग्नुपरेका कठिनाइलाई पनि उनीहरूले प्रमुखताका साथ प्रस्तुत गरे । लामो समय विद्यालय, शिक्षक र साथीहरूसँग छुट्टिनुपरेकोमा यसले मनोविज्ञानमा पारेको प्रभावको अनुभवसमेत सुनाए । उनीहरूले यसका नकारात्मक प्रभावबारे मात्र बोलेनन् । कोभिड-१९ देखा परेपछि यसले सकाइमा ल्याएको पृथकतालाई पनि उल्लेख गरे । शिक्षामा प्रविधिको प्रयोग, व्यावहारिक सिकाइलगायतयसमा अभिभावकको भूमिका बढेकोजस्ता राम्रा प्रभावलाई पनि उनीहरूले स्मरण गरे ।
यी सबै दृष्य नेसनल प्याब्सन कास्कीको आफ्नै सभाहलका हुन् । नेसनल प्याब्सन कास्कीबाट आयोजित ‘शैक्षिक क्षेत्रमा काभिड-१९ को प्रभाव’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कूल १७ विद्यालयका विद्यार्थीको उपस्थिति थियो ।
प्रतियोगितामा रत्नज्योति मा.वि.की छात्रा अमृता अधिकारीले अन्य प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरिन् । त्यसैगरी राइजिङ स्टारकी छात्रा खुसी वि.क. द्वितीय, पोखरा क्याम्ब्रिजकी सञ्जना मगर तृतीय र अक्सफोर्ड स्कुलकी रोशनी शर्माले चतुर्थ स्थान प्राप्त गर्न सफल भए ।
कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले नेसनल प्याब्सनले शैक्षिक गतिविधिमा आफूलाई अगाडि बढाउँदै आएकामा धन्यवाद दिए । विद्यार्थी जिज्ञासु बनिरहनुपर्नेमा जोड दिँदै अबको समयमा शिक्षा क्षेत्र सामान्य अवस्थामा फर्कनुपर्ने बताए ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेसनल प्याब्सन कास्कीका उपाध्यक्ष केशवशरण पौडेल, निर्णायक दिनेश अर्याल, डा. कपिल अधिकारी, नेसनल प्याब्सनका गण्डकी प्रदेश अध्यक्ष याम खड्का, निर्णायक डा. कपिल अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वक्ताहरूले निरन्तर प्रश्न गर्न विद्यार्थीलाई आग्रह गरे । नतिजाभन्दा प्रस्तुति र सहभागिता महत्त्वपूर्ण भएको बताउँदै उनीहरूले सिकाइलाई व्यावहारमा लागू गर्न आग्रह गरे । ज्ञान, सीप सिक्नु, त्यसमा पारङ्गत हुनु र प्रभावकारी प्रस्तुति गर्ने सबै कुरा वक्तृताभित्र पर्ने हुनाले सबै कुरामा ध्यान दिन पनि सुझाए । संवेदनशील बनेर सिकाइलाई उपलब्ध स्रोतसाधन प्रयोग गरि निरन्तर दिनुपर्नेमा पनि उनीहरूले जोड दिए ।
सो अवसरमा विजयी विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिएको थियो भने निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।