साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्मृति सभा एवम् पुस्तक विमोचन

Chovar Blues Mobile Size

नेपाली वाङ्मयका विशिष्ट हस्ताक्षर विनय कसजूको निधन भएको एक वर्ष पुगेको दिन २०७७ मंसीर १० मा स्मृति कार्यक्रम सम्पन्न गरियो ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष विजयराज आचार्यले गरेका थिए ।

सो समारोहको प्रमुख अतिथि वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर एवम् विशिष्ट अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य थिए । कार्यक्रममा प्रमोद प्रधानद्वारा सम्पादित स्मृतिमा विनय कसजू, डा. पुष्करराज भट्टद्वारा सम्पादित विनय कसजूका लघुकथाः सिर्जना र विवेचना एवम् विजयराज आचार्यद्वारा लिखित पुस्तिका विनयशील विनयको विमोचन गरिएको थियो ।

विमोचित पुस्तकका बारेमा समीक्षा गर्ने क्रममा हरिप्रसाद भण्डारीले स्मृतिमा विनय कसजूमा कसजूका बारेमा लेखिएका अठार रचनाले उनको जीवनबारे प्रकाश पारेको, विनयशील विनयमा विनय कसजूका जीवनका अनेकन पाटालाई उजागर गरिएको बताए । उनले विनय कसजुका लघुकथाः सिर्जना र विवेचना नेपाली लघुकथामा विनय कसजूका सिर्जनाका साथै उनको लघुकथा लेखनका विविधि पाटोलाई उजागर गरिएको र यो अध्ययन गर्नैपर्ने कृति भएको विचार राखेका थिए ।

प्रविधिका माध्यमबाट आयोजित यस कार्यक्रममा पत्रकार लक्ष्मण देवकोटाले विनय कसजूले पत्रकारिता, रेडियो कर्म र सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिएको विचार राखेका थिए । विमोचित कृति विनय कसजूका लघुकथाः सिर्जना र विवेचनाका लेखक डा. पुष्करराज भट्टले कसजूले नेपालको पञ्चायत काल, प्रजातन्त्र काल र गणतन्त्र काललाई देख्न, बुझ्न पाएको र उनका रचनामा युगीन चेतना प्रखर रुपमा आएको विचार राखेका थिए ।

प्रा.डा. चुडामणि बन्धु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विनय कसजूका योगदानको चर्चा गरेका थिए । विनय कसजूकी धर्मपत्नी गंगा कसजूले विनय कसजूको स्मरणका साथै उनका सम्मानमा केही पुरस्कार स्थापना गर्ने जानकारी दिएकी थिइन् ।

sagarmani mobile size

कसजूका जेठान लालचन्द्र राजमण्डारीले पारिवारिक प्रसंगका साथै विनय कसजूका असल पक्षको बारेमा प्रकाश पारेका थिए । प्रमुख अतिथि शान्तदास मानन्धरले विनय कसजू बालसाहित्यमा पछिल्लो अवस्थामा लागे पनि उनले बालसाहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिएको विचार राखेका थिए ।

यस कार्यक्रममा देशका विभिन्न भागका साथै विदेशबाट पनि धेरै साहित्यकार, कसजूका परिवारजन एवम् शुभचिन्तक समावेश भएका थिए ।

स्मृति सभाको औपचारिक कार्यक्रमपछि अन्तरक्रियाको आयोजना गरिएको थियो । सो अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले काउन्सिलका प्रथम प्रमुख आयुक्त विनय कसजूको सम्मानमा प्रेस काउन्सिलले विनय कसजू पत्रकारिता पुरस्कार स्थापना गरेको जानकारी दिएका थिए । अन्तरक्रियामा मेघराज शर्मा, भागिरथी श्रेष्ठ, राजेश अर्याल, विजय सागर, सुशीला श्रेष्ठ, हर्षमान महर्जन एवम् राजेश अर्यालले आफ्नो विचार राखेका थिए ।

यसैगरी विनय कसजू स्मृति प्रतिष्ठानले विनय कसजू ग्रामीण पत्रकारिता पुरस्कार रेडियो मदनपोखरा पाल्पाका पत्रकार राजेश अर्याललाई दिने घोषणा गरेको छ । रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गरेको, आवाजविहीनको आवाज उठाएको र गाउँमा सञ्चार माध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान दिएकोमा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया
Loading...