किरात समुदायको मुख्य चाड उधौलीको अवसरमा ‘साहित्यमा संस्कृति लेखौं’ नारासहित “साकेला साहित्य महोत्सव २०७७” आयोजना हुने भएको छ । किरात राई लेखक संघको आयोजनामा आगामी पुस ११ र १२ गते सम्पन्न हुने महोत्सवमा साकेला कविता प्रतियोगिता गरिनेछ ।
भर्चुअल प्रविधिमार्फत् आयोजना गरिने महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार तथा लेखक भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, साहित्यकार राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरुको भूमिका’ र संघका पूर्वअध्यक्ष प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयमा बोल्ने छन् ।
दोस्रो दिन, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ विषयमा गहन विश्लेषण गर्नेछन् । दुवै दिन बेलुकी ४ बजेदेखि कार्यक्रम आरम्भ गरिनेछ ।
दोस्रो दिन साकेला कविता प्रतियोगिताको नतिजासहित महोत्सव समापन हुनेछ । साकेला कविता प्रतियोगितामा भाग लिनका लागि संघले ७ बुँदे नियम बनाएको छ ।
कविता साकेलासम्बन्धी मात्रै लेखिनुपर्ने भए पनि इच्छुक सबै सम्प्रदायका कविहरूले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको छ । कविता मंसिर २५ गतेभित्र संघको इमेलमा पठाइसक्नु पर्नेछ । संघले ३० वटा कविता छनोट गरी अन्तिम चरणको प्रतियोगितामा लानेछ ।
अन्तिम चरणमा लगिने कविता सम्बन्धित कविले वाचन गरेको भिडियो पुस ५ गतेभित्रमा इमेलमा पठाउनुपर्नेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण–पत्र, मेडल र पुस्तकहरु पुरस्कार दिइनेछ ।
गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र साहित्यकार राजन मुकारुङले पुरस्कारको प्रायोजन गर्नेछन ।
गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार समृद्धिको तर्फबाट महोत्सवमा सायरेम्मा (किरात संस्कारअनुसार शीर उभाउनी) गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।