नारी स्रष्टा समाज विराटनगरले युवाकवि दीपक शम्चुलाई मोहन–लता साहित्य पुरस्कार समर्पण गरेको छ ।
विगत डेढ दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय युवाकवि शम्चुलाई ११ हजार नगद राशिसहित सम्मानपत्र समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार शैलेन्द्रप्रकाश नेपाल, विशिष्ट अतिथि वरिष्ठ समालोचक दधिराज सुवेदी र आयोजक संस्थाकी अध्यक्ष ममता मृदुलले शम्चुलाई नगद र सम्मान प्रदान गरेकी थिइन् ।
साहित्यकार ममता मृदुल, अभिजय श्रेष्ठ, मञ्जुश्री गिरी, किरण गिरी र विकल गिरीले यो पुरस्कारको स्थापना गरेका हुन् । अक्षयकोष खडा गरेर पुरस्कारलाई संस्थागत गरिने अध्यक्ष मृदुलले जानकारी दिइन् । सो पुरस्कार पहिलोपटक शम्चुलाई समर्पण गरिएको हो । नारीहरुको संस्था भए पनि हरेक वर्ष पुरुष साहित्यकारलाई उक्त पुरस्कार समर्पण गरिने संस्थाले जनाएको छ ।
आगामी दिनमा पुरस्कारको राशि वृद्धि गर्ने योजना रहेको मृदुलको भनाइ थियो । कार्यक्रममा कवि मधु पोखरेल, भरत गुरागाईं, सुमन पोखरेल, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, सीमा आभास, मीनकुमार नवोदित, रामबाबु दाहाल, रोमा निरौला, लक्ष्मी पोखरेललगायतले कवि शम्चुका कविता वाचन गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

