तिहारको झिलिमिलीमा अरुले घरमा अनेक रङले सजाए तर कवि सञ्जय सुमनले भने कविताले घर रङ्ग्याएका छन् ।

गीत र छोटा कविता लेखनमा रुचि भएका सञ्जयले तिहारमा लक्ष्मीलाई मात्र होइन, सरस्वतीलाई पनि स्वागत गर्नुपर्ने मान्यता राखेर घरका भित्तामा कविता कोरेका हुन् । उनले आफूलाई मनपर्ने कविहरु महेश पौडेल र अनिल खतिवडाका कविताका साथमा आफ्ना कविताहरुलाई भित्तामा सजाएका हुन् ।

काठमाडौँमा शिक्षण पेशामा आबद्ध सञ्जय सुमनले दसैँमा आफ्नो गाउँ सर्लाही गएका बेला नै गाउँमा साहित्यमा केही गर्ने योजना बनाएका थिए तर के गर्ने उपाय सुझिरहेको थिएन । उनको गाउँ हरिपूर्वा नगरपालिकाभित्र परे पनि साहित्यमा खासै चेतना भएको गाउँ होइन । झन् उनको गाउँ बगेवामा साहित्यिक साक्षरसमेत भेट्न मुस्किल छ । यस्तोमा कविताप्रति रुचि बढाउन उनले गाउँका घरहरुमा कविता कोर्ने योजना बनाएका हुन् ।

‘अचानक आफ्नो घरको भित्तामा कविता कोर्ने योजना बन्यो,’ साहित्यपोस्टसँग कवि सञ्जयले भने, ‘योजना बुन्नेबित्तिकै मन असाध्यै खुसी भयो । मलाई लाग्यो, मैले खोजेको काम यही हो । घरका भित्तामा कविता कोरेपछि गाउँका केही शिक्षित व्यक्तिहरुको ध्यान भित्ताका अक्षरहरुमा गयो । मलाई लाग्यो, यसले साहित्यिक साक्षरता बढाउँछ । बस्, म यतातिर लागेँ ।’

कवि सञ्जयले फुर्सदको समयमा गाउँका विभिन्न घरहरुमा कविता कोर्ने योजना बुनेका छन् ।

‘गाउँका घरहरुलाई कविताहरुले सजाउने इच्छा छ,’ सञ्जयले साहित्यपोस्टसँग भने, ‘जतिवटा घरका मालिकले मलाई स्वीकृति दिनुहुन्छ, उहाँहरुको घरलाई कविताले रङ्ग्याउनेछु ।’

काठमाडौँमा हाल उनले पठनपाठन गराउने विद्यालय बन्द रहेकाले पनि उनी केही समयसम्म गाउँमा बस्नेछन् । यस बीचमा करिब सय घरमा कविता कोर्ने योजना बनाएका हुन् ।

उनको खास नाम सञ्जय चौधरी हो । तर एकजना अर्का सञ्जय चौधरीले संगीत र गायनमा नाम बनाइसकेका कारण उनले आफ्नो नामलाई पृथक् बनाउन सञ्जय संगम राखेका हुन् । संगम उनको श्रीमतीको नाम हो ।

‘सम्पत्ति कमाएको भए श्रीमती खुसी हुन्थिन् होला,’ उनले भने, ‘शिक्षण र साहित्यमा लागेका कारण सम्पत्ति कमाउन सकिएन । त्यसैले श्रीमतीको नाम नै अमर बनाउन उनको नाम राखेको हुँ । यसले हामी दुवैलाई खुसी दिएको छ ।’

छोटो कवितामा रुचि राख्ने सञ्जय सुमन महेश पौडेल र अनिल खतिवडाबाट प्रभावित छन् । भित्ते कविताको सुरुवात पनि यिनै दुई कविहरुका कविताबाट गरेका हुन् ।