साहित्यकार महानन्द ढकालको नवीनतम् कृति ‘सिमाना’ मुक्तक सङ्ग्रह नेपाल–भारतको सिमाना बाँकेको जमुनाहा दशगजा क्षेत्रमा विमोचन गरिएको छ ।
साहित्यकारहरु केशव सिग्देल, सन्तोषी विष्ट, कपिल अन्जान, बद्रि ढकाल हिरामणि, विक्रम शिशिर, सुमित्रा न्यौपाने, केशव निमेश, उषातानी सुवेदी र कृतिकार महानन्द ढकालले दशगजा क्षेत्रमा उभिएर संयुक्त रुपमा सिमाना मुक्तक सङ्ग्रहको विमोचन गरेका हुन् । झण्डै तीन दशकदेखि साहित्य साधनामा क्रियाशील ढकालको यो पाँचौँ कृति हो ।
देश काल परिस्थितिलाई राम्रोसँग बुझेका ढकालका यस कृतिमा समेटिएका धेरै मुक्तकहरु देशप्रेमले भरिएका छन् । पटक-पटक हुने सीमा माथिको अतिक्रमणले हरेक लेखकको मन छुने हुनाले ढकालले पनि सामाजिक विकृति, विसंगति एवम् सीमारक्षाका लागि लेखिएका मुक्तकहरुलाई सिमाना मुक्तक सङ्ग्रहमा सङ्ग्रहित गरेका हुन् ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका ढकालले ‘खण्डित आत्मा’ गजलसङ्ग्रह , ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु’ संयुक्त गजलसङ्ग्रह र ‘अव्यक्त प्रत्यासा’ गजलसङ्ग्रह र ‘घाम उदाए’ हाइकुसङ्ग्रह प्रकाशित गरिसकेका छन् ।
यस मुक्तक सङ्ग्रहलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको हो । विभिन्न कृतिहरु प्रकाशन गरेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले यस पटक फरक तरिकाले कृतिको विमोचन गर्न पाएकामा खुसी व्यक्त गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।