पत्रकार तीर्थ सिग्देलद्वारा लिखित यात्रा संस्मरण एक दिन (समय कथा) बजारमा आएको छ ।

दक्षिण एसियाका आधा दर्जन देशहरुको भ्रमणपश्चात तयार पारिएको यस कृतिले सन्देश दिने प्रयास गरेको लेखक सिग्देलको भनाइ छ । खास गरेर १४ वटा च्याप्टरमा लेखकले दुबई, श्रीलंका, भारत, कतार, बंगलादेश, सिंगापुर, मलेसियाजस्ता देशहरुले गरेका प्रगतिका कथा र हाम्रो देशले भोगेका पीडा समेटिएको छ ।

यो उनको चौथो कृति हो ।

मुलुक बनाउन कति समय लाग्छ ? देश बनाउने कसम खाएर आएको नेतृत्वले चाह्यो भने मुलुक सिंगापुर बन्न सक्छ । मलेसिया बन्न सक्छ । त्यति मात्र होइन, आजको कतार र दुबईले गरेको प्रगतिलाई नियाल्ने हो भने हाम्रो मुलुक बनाउन केवल प्रतिबद्धता मात्र चाहिन्छ । आँट, धैयर्ता र त्याग चाहिन्छ । लेखकले यस्ता धेरै विषयचिन्तन पुस्तकमा गरेका छन् ।

भ्रमणलाई केवल घुमफिरको रुपमा र मजा लिने माध्यम मात्र बनाएका नेपालीहरुका लागि यो पुस्तक एउटा गाइड बन्ने प्रकाशक मिडिया रिसर्च सेन्टरको धारणा छ । अझ यसलाई पर्यटनग्रन्थको रुपमा लिन पनि सकिने दमक क्याम्पसका नेपाली विषयका प्राध्यापक शिव रेग्मी प्रणत बताउँछन् । उनी भन्छन्, ‘यो एउटा पर्यटनग्रन्थ हो र यो पुस्तकले पाठकलाई यात्रा गराउँछ ।’

तीर्थ सिग्देल आफैँमा एक सिद्धहस्त पत्रकार हुन् । यसअघि तीन पुस्तक बजारमा आइसकेको भए पनि उनले आफूलाई मूलतः पत्रकारकै परिचयमा चिनाउन चाहन्छन् । उनले यसअघि कथासंग्रह ‘मनोनेट’ निकाले । त्यसअघि ‘पूर्वको राजनीति’ र ‘जीवनको गति’ पुस्तक बजारमा ल्याइसकेका सिग्देल भ्रमणलाई मनोरञ्जनको आधारका रुपमा मात्र लिन नहुने मान्यता राख्छन् । उनले सुरुमै लेखेका छन्, ‘म घुम्नु वा भ्रमण गर्नुलाई सिकाइको रुपमा लिन्छु । खास गरेर नेपालसँग त्यहाँको अवस्थाको बारेमा तुलना गर्छु । यो किताब त्यही अवस्थाको प्रतिबिम्ब हो ।’

पुस्तकको मूल्य तीन सय रूपैयाँ रहेको छ ।