बालबालिकाहरुमा केन्द्रित भई शिखा बुक्सले बालउद्यान नाम गरेको किताब बजारमा ल्याएको छ । ३७ वर्षको शिक्षण पेशाको अनुभवलाई इलाम देउमाईका पूर्व प्रधानअध्यापक श्री खडा नन्द अधिकारीले बालउद्यान नामक पुस्तक तयार पारेका हुन् ।
बाल अधिकार सुनिश्चत गर्न अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेको बाल अधिकार महासन्धी होस् वा बाल अधिकार अभिसन्धी होऊन्, प्रमुख उद्देश्य भनेको उनीहरूको विकास नै हो ।
किताबको बारेमा प्रा.डा. मनप्रसाद वाग्ले लेख्नुहुन्छ, ‘बालबालिकाको स्वतन्त्रता, उनीहरूको जिज्ञासा, प्रकृतिसँगको उनीहरूको सामीप्य, बाल सिर्जना, बालबालिकामा उत्पन्न हुने भय र तिनका कारण, बालबालिकाको मनोवैज्ञानिक अवस्था र दैनन्दीन रूपमा उनीहरूमाथि गर्नुपर्ने निगरानीलाई समेत विस्तृत व्याख्या हुनु नै यो पुस्तकको विशेषता हो । बालबालिका सन्दर्भमा सवैलाई शिक्षित तुल्याउने गिजुभाईलाई उहाँले धेरै ठाउँमा साभार गर्नु भएको छ । सामाजिक, धार्मिक, पारम्परिक र मनोवैज्ञानिक पक्षको मिश्रण गर्न सफल यो पुस्तक हाम्रो जस्तो देशको लागि अत्यन्त उपयोगी सावित हुनेछ । त्यस्तै हाम्रा गलत परम्परा र बालबालिकाको हिंसामा उहाँले विशेष चासो राख्नुभएकोले बालबालिकाको सामाजिक रूपान्तरणमा समेत यो पुस्तक उपयोगी हुनेछ ।’
प्रा.डा. विद्यानाथ कोइरालाका अनुसार, ‘पुर्खाले बालबालिकाको पठनपाठन कसरी गरे ? गराए ? पश्चिमाले कसरी गर भने ? मनोविदले के गर्नुपर्छ भने ? शिक्षाविदले के भने ? लेखकको शिक्षकीय अनुभवले के गर्नुपर्छ भन्यो ? यी र यस्ता हरप्रश्नका उत्तर छन् पुस्तकमा ।’
सरल भाषामा सबैले बुझ्ने गरी लेखिएको यो पुस्तकभित्र बालबालिकाको विकास, सम्भावना, उनीहरूलाई दिनुपर्ने प्रेरणा, उनीहरूका सकस, बालबालिका प्रति अभिभावकको दायित्व, बाल जिज्ञासा, बालबालिकाका समस्या र समाधान, जस्ता यति धेरै विषयवस्तु समेटिएका छन् कि यी सबै कुरा बुझ्न हामीले दर्जनौं पुस्तक पढ्नु पर्ने हुन्छ ।
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३५० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।