मञ्जरी प्रकाशनले नवोदित कथाकार शोभा ज्ञवालीको कृति ‘सम्पूर्ण आकाश’ बजारमा ल्याएको छ ।

पुस्तकमा पच्चीस वटा कथा अटाएका छन् । खासगरी नागरिक दैनिकको अक्षर परिशिष्टांक तथा परिवार मासिक पत्रिकामा प्रकाशित कथाहरू संकलन गरी पुस्तकाकार रूप दिइएको हो ।

नागरिक दैनिकको प्रकाशन समूह नेपाल रिपब्लिक मिडियाकी निर्देशकसमेत रहेकी ज्ञवालीका कथामा पारिवारिक माया-प्रेम, ईर्ष्याजस्ता सामान्य मानवीय भाव तथा त्यसबाट उत्पन्न परिस्थितिलाई नै कथानक स्वरूप दिएकी छन् । मूलतः आफैँले देखेभोगेका तथा सुनेका घटनाहरूलाई उनले कथानक स्वरूप दिएकी हुन् ।

वरिष्ठ कथाकार श्रीराम बस्नेत भन्छन्, ‘कथाकार ज्ञवालीका कथाहरू साहित्यको कुनै शास्त्रीय सिद्धान्त, सूत्र वा तोकिएका ढाँचाभित्र बाँधिएका छैनन् । वास्तवमा हुनुपर्ने पनि त्यही हो । कुनै साहित्यिक विधा कथा, कविता, उपन्यास, निबन्ध आदि जेसुकै भए पनि त्यसले अनुशरण गर्नुपर्ने दुई वटा मात्र सिद्धान्त वा सूत्र छन्- पाठकका लागि रूचिपूर्ण होस्, पढ्दापढ्दै बीचैमा छोड्न पाठक बाध्य नहोस् । र, अर्को लेखकीय इमान्दारीमा कुनै कमी नहोस् । यी दुईबाहेक अरू तपसिलका कुरा हुन् । यस दृष्टिले हेर्दा सम्पूर्ण आकाशकी कथाकारले आफ्ना कथाहरू कथाको शास्त्रीय सिद्धान्त र परिभाषाभित्र पर्छ कि पर्दैन भनेर चिन्ता नगर्ने बनएको सोच स्वाभाविक लाग्छ ।’

२३२ पृष्ठको यस पुस्तकको मूल्य ३८५ रूपैयाँ रहेको छ ।